चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने भए पनि प्रतिव्यक्ति आयमा भने सुधार देखिएको छैन । प्रतिव्यक्ति कुल राष्ट्रिय आय गत आर्थिक वर्षमा १ हजार ५३५ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्ष २०८२÷८३ मा पनि १ हजार ५३५ अमेरिकी डलर नै कायम रहेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन बढेको छ । प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन चालु आर्थिक वर्षको अन्त्यमा २ हजार ४४ अमेरिकी डलर कायम हुने भएको छ ।
प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन गत आर्थिक वर्षमा १ हजार ९९४ अमेरिकी डलर थियो । त्यस्तै प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय सामान्य घटेको छ । यस्तो आय गत आर्थिक वर्षमा १ हजार ५१६ अमेरिकी डलर रहेकोमा यो आर्थिक वर्षमा १ हजार ५१३ अमेरिकी डलर रहने भएको छ ।