सुचना, समाचार र मनोरन्जन
jaar

सांगीतिक सेवामा समर्पित आशिष पराजुली 

पोखरा : काठमाडौंस्थित कोटेश्वरको रैथाने पराजुली परिवारमा जन्मिएका आशिष पराजुलीले पारिवारिक विरासतभन्दा पृथक धारमा लागेर आफ्नो पहिचानको पखेटा फरफराए । पुर्ख्यौली इलमभन्दा फरक अस्तित्वको खोजीले उनलाई सांगीतिक क्षेत्रको प्रेरक व्यक्तित्व बनायो । आशिषले वाल्यकालमा गौचरनको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने र अवतरण गर्ने हवाइजहाज गन्दै गणित सिके । ‘ए फर एरोप्लेन’ भन्ने कुरा पराजुलीले पुस्तकमा होइन आफ्नै आँखाले देखेर जाने । हवाइजहाज उड्दा उनको सपना पनि उड्थ्यो ।

वाल्यकालको सपना उनले तन्नेरी हुँदा अन्तर्राष्ट्रिय उडान भरेर पूरा गरे । तर ती सपनाहरू परदेशी भूमिमा स्थिर भएनन् । पिआरको चक्करमा परेर विदेशमा बस्ने चाहना धेरैका लागि मोहक हुन्छ तर पिआरको लोभमा पराजुली परेनन् र त स्वदेशमै सम्भावना देखेर घरदेश फर्के । आफ्नो रहरको सांगीतिक विरुवा मनको गमलामा रोपे । उनलाई सांगीतिक क्षेत्रको मायाले लचप्पै भिजायो ।

आशिष जागिरे मानसिकताबाट माथि उठेका तन्नेरी हुन् । जागिर खाँदा आफूले मात्रै खाइन्छ र जागिरसँगै जिन्दगी काटिन्छ भन्ने मर्म बुझे ।

नेपाली सङ्गीत उद्योगमा व्यवस्थापनको खडेरी मेट्ने उद्देश्यले आदि ग्रुप स्थापना गरे । व्यवसायीक यात्रालाई उनले केवल मुनाफामुखी बनाएनन् । सांगीतिक क्षेत्रको प्रवर्द्धन प्यासन र समाजसेवाको रूपमा अँगाले । सांगीतिक उद्यमबाहेक उत्पादन र वितरण कम्पनीमा सयौँ युवालाई स्वदेशमै रोजगारी दिएर आफूले उद्यमशीलता अपनाए ।

उनले स्थापना गरेका संस्थाहरूले विभिन्न क्षेत्रका मानिसहरूलाई रोजगारीको अवसर मात्र प्रदान गरेनन्, नेपाली सांगीतिक क्षेत्रको प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका खेलेको छ । आशिषको जीवनलाई केवल व्यावसायिक सफलताको कथा भनेर मात्र बुझ्न मिल्दैन, मनैदेखि सांगीतिक समाजसेवामा समर्पित छन् । व्यवसायले उनलाई आर्थिक सम्पन्नता दिएको होला, तर सङ्गीतले जीवनको अर्थ दिएको छ भन्ने ठम्याई उनको छ ।

स्कुल कलेज काठमाडौंमा सकेका पराजुलीले कम्प्युटर साइन्समा स्नातक र लेखाशास्त्रमा स्नातकोत्तर विदेशी विश्वविद्यालयबाट पूरा गरेका छन् । पढाईलेखाईज्ञानगुन हासिल गरेका उनलाई गीतसङ्गीतको अनुरागले मोहनी लगायो । गीतसङ्गीत र ब्याण्डको प्रवर्द्धनमा दत्तचित्तले लागे । आर्जित प्राविधिक शिक्षाको बाटो छोडेर कच्ची नै सही सांगीतिक यात्रामा रमाए । चल्तीका चर्चित कलाकार र ब्याण्डको सफलतलाको जग निर्माणमा उनको योगदान छ । कलाकारलाई प्रकाशमय बनाउने पराजुली आफू नेपथ्यमा रहन रुचाउँछन् । चर्चा परिचर्चाको माहोलभन्दा उनी परै रहन चाहन्छन् ।

उनलाई जन्मकुण्डलीमा नाट्श्वरी र सांगीतिक क्षेत्रको जोग परेको आभास हुन्छ । भाइसाथीको सङ्गतले उनी नेपाली लोकबाजा र गीतसङ्गीतमा आकर्षित भएका हुन् ।

उनले कन्दरा, कर्मा ,कुटुम्ब, सिजन्स ब्याण्डको प्रवर्द्धन र व्यवस्थापनको नेतृत्व लिए । नवीन के भट्टराई, सञ्जीव सिंह, सुगम पोखरेल, विवेक श्रेष्ठ, सुरेन्द्रमान सिंह, सुजीन कर्माचार्य जस्ता गायकलाई समसाथ दिए ।  उनीहरूको जग र जरामा सधैँ मलजल गरिरहे ।

साहित्य, कला र सङ्गीतको उत्थानका लागि मनैदेखि चासो दिए । पश्चिमाहरूको सङ्गीतले विश्व मञ्चमा लोकप्रियता कमाएको छ, पराजुली सोच्छन् नेपाली लोकबाजालोकधुन त्यो भन्दा अब्बल प्रभाव पार्ने खालका छन् । उनी नेपाली लोकधुन पश्चिमी सङ्गीतभन्दा कमजोर छैन् भन्नेमा विश्वस्त छन् । सङ्गीत अन्तर्राष्ट्रिय भाषा त हुँदै हो, निराशाको निवारक र तनावको उपचारक पनि हो भन्ने बुझेका उनले आफूलाई सांगीतिक क्षेत्रमै समर्पित गरेका छन् ।

कुनै याम नेपालको पर्यटन शिथिल बनेको घडी, पर्यटनको चहलपहल खस्केको यथार्थलाई मध्यनजर गर्दै आशिषले ‘पहिला घरदेश अनि परदेश’ घरदेश घुमौँ आन्तरिक पर्यटनलाई प्रवर्धन गरौँ भन्ने उद्धेश्यले २०८० पुस २७ गते पोखरामा ‘कन्दरा सांगीतिक अभियान–२०८० लाई भव्य व्यवस्थापन गरी कन्सर्ट सम्पन्न गरे । कन्दराको अभियानलाई पोखरेली गीतसङसगीत र कन्सर्टको इतिहासमा बेञ्चमार्क कन्सर्ट मानिएको छ । पर्यटनको राजधानी घोषित पोखरा प्रदर्शनी केन्द्रमा ११ हजारभन्दा बढी दर्शकको भौतिक उपस्थिति र डिजिटल माध्यमबाट लाखौँ स्रोता दर्शकले कन्दरालाई अवलोकन गरी आफ्नो मन, मस्तिष्क र मगजमा राखे । लामो समयको रिक्ततापछि कन्दरालाई सांगीतिक दुनियाँमा पुनर्गमन गराउने श्रेय आशिषले नै पाए ।

आदि ग्रुपअन्तर्गतको एएसक्युले कर्मा ब्याडको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी सम्हाल्यो । हुक्का मेरो, छैन मैले तिम्रो, कहाँ होला घरबार, यानिमाया जस्ता बहुचर्चित गीतहरू प्रस्तुत गरिसकेको कर्मा ब्याण्डलाई लयमा फर्कायो ।

आशिष भन्छन्– ‘नेपाली परिप्रेक्ष्यमा कुनै गायक गायिका वा ब्याण्डको व्यवस्थापन नै गर्न एउटा छुट्टै टोली खडा गरिनु उति प्रचलित प्रयोग नभए पनि अन्तर्राष्ट्रिय परिवेशमा यो अत्यावश्यक मानिएको छ ।’

कर्मा ब्याण्डको प्रवर्धनसँगै नयाँ एल्बम, नयाँ म्युजिक भिडियोहरू र कार्यक्रम प्रस्तुतिको व्यवस्थापन भयो । कीर्तिपुरको समृद्ध सांस्कृतिक धरोहरलाई प्रवर्धन गर्ने, युवा पुस्तालाई सङ्गीतको माध्यमबाट एकतामा बाँध्ने, स्थानीय कला र संस्कृति प्रवर्द्धन गर्ने र कीर्तिपुरलाई सांगीतिक पर्यटनको गन्तव्य बनाउने ध्येयले ‘एकै स्वरमा, कीर्तिपुरमा’ कर्मा ब्याण्डसँगै कुटुम्बको वृहत् कन्सर्ट सम्पन्न भयो ।

२०८१ मंसिर २२ गते ल्याबोरेटरी माध्यमिक विद्यालयको प्राङ्गण, कीर्तिपुरमा आयोजित कार्यक्रममा १२,००० भन्दा बढी प्रत्यक्ष दर्शकको उपस्थिति रहेको कार्यक्रमले उनलाई हौस्याएको छ । उनले कर्मा ब्याण्डलाई मुलुक भित्र  र मुलुक बाहिरको अभियानमा अनुबन्धन गरेका छन् ।

आशिषले विगत २ दशकदेखि रेकडर्स र  प्रडियुसरको कर्म गरिरहँदा सांगीतिक क्षेत्रका कलाकार  र ब्याण्ड व्यवस्थापनको अभाव महसुस गरेपछि आदि ग्रुप स्थापना गरे । कम्पनी अन्तत्वगोत्वा साहित्य, कला, सङ्गीत र समग्र वाङ्मयिक क्षेत्रको सम्वर्द्धन, प्रवर्द्धन र विकासका लागि नेतृत्वदायी स्थापित संस्था बन्यो ।

गीतसङ्गीतमा आबद्ध कलाकार ब्याण्डलाई मूलधारमा ल्याउँदै सुगम पोखरेलको सुगम सङ्गीत, नवीन के भट्टराईको श्लोक, कन्दरा ब्याण्डको भेँडीगोठैमा, सञ्जीव सिँहको तोरमाम साथै तिमी र म, अनिल सिंह, सुजील कर्माचार्य लगायत सिजन्स ब्याण्डको द न्यु बिगिनिङ अल्बमको रेकर्डिङ र प्रडियुसरको भूमिका निभायो । स्रष्टाका एल्बम र म्युजिक भिडियो निर्माण गरी सांगीतिक बजारलाई सुम्पियो ।

आशिष केवल व्यवसायीक सफलता खोज्ने पात्र मात्र होइनन् । नेपाली गीतसङ्गीतलाई विश्वमञ्चमा गुञ्जयमान गराउन चाहने सांगीतिक अभियन्ता हुन् । उनी उद्यमशीलता, उत्पादन, वितरण र सांस्कृतिक चेतनाले ओतप्रोत छन् । उनले आफ्ना सपनालाई केवल व्यापारिक लाभमा सीमित नगरेर समाजको सांस्कृतिक उत्थानमा ध्यान केन्द्रित गरेका छन् । यसले उनलाई मुद्राभन्दा माथि उठेर नेपाली गीतसङ्गीतको धुनलाई विश्वसामु गुञ्जयमान बनाउने हौसला दिएको छ ।

पराजुली आफ्नो परिश्रम र मिहिनेतको जगमा उभिएर नेपाली गीतसङ्गीतको बगैँचालाई गोडमेल गरी युवा पुस्तालाई आशावादी बनाउन तल्लीन छन् । कुरा कम र काम धेरै गर्न रुचाउने आशिष सांस्कृतिक जागरणले नै सङ्गीतको समृद्धि हुन्छ भन्नेमा ढुक्क देखिन्छन् ।

Leave A Reply

Your email address will not be published.