सुचना, समाचार र मनोरन्जन

पुष्प खड्काको अभिनय रहेको ‘प्यारी छोरी’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं :

नायक तथा मोडल पुष्प खड्काको अभिनय रहेको ‘प्यारी छोरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियो हिजो सुमाम्सा बान्तवाको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।

माङ्गमु फिल्म्ससँगको सहकार्यमा मोहन बान्तवाको प्रस्तुति रहेको यस गीतका शब्द तथा कथाकार स्वयं मोहन बान्तवा हुन्। गीतमा महेन्द्र राईको संगीत, राजु कार्कीको संगीत संयोजन तथा दिनेश माङ्गमुको निर्देशन रहेको छ।

६ मिनेट २६ सेकेण्ड लामो भिडियोले बाबु र छोरीबीचको गहिरो प्रेम, संघर्ष र भरोसालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। भिडियोमा पुष्प खड्का र सुमाम्सा बान्तवा बाबु–छोरीको भूमिकामा देखिएका छन्।

गीतमा चर्चित गायक राजेश पायल राई र सुमाम्सा बान्तवाको स्वर रहेको छ। सुमाम्साले स्वर मात्र नभई अभिनयमार्फत पनि सशक्त उपस्थिति जनाएकी छन्। उनको स्वाभाविक र जीवन्त अभिनयले भिडियोको भावनात्मक पक्षलाई थप प्रभावशाली बनाएको छ।

अष्ट्रेलियामा जन्मिएर त्यहीँ हुर्किएकी १२ वर्षीया सुमाम्सा हाल कक्षा ७ मा अध्ययनरत छन्। सानै उमेरदेखि गीत–संगीत, नृत्य र अभिनयमा रुचि राख्दै आएकी उनी सात वर्षदेखि गितार सिक्दै आएकी छन्। पछिल्लो एक वर्षदेखि स्वर संगीतको औपचारिक अध्ययन गरिरहेकी सुमाम्साले तीन वर्षदेखि नाटक तथा नृत्यको प्रशिक्षणसमेत लिँदै आएकी छन्।

सांगीतिक तथा कलात्मक गतिविधिसँगै पौडी र भलिबलमा समेत सक्रिय सुमाम्सा अध्ययनमा पनि उत्कृष्ट मानिन्छिन्। उनी अध्ययनरत विद्यालयमा अष्ट्रेलियन तथा अन्य मुलुकका विद्यार्थीलाई पछि पार्दै वर्षका उत्कृष्ट पाँच विद्यार्थीमध्ये चयन भएकी छन्। नेपाली भाषा, संस्कृति र कलाप्रतिको उनको लगाव र प्रतिभाले सुमाम्सालाई उदाउँदो नेपाली प्रतिभाका रूपमा चिनाएको छ।

Leave A Reply

Your email address will not be published.