सुचना, समाचार र मनोरन्जन

र्‍यान्डम रिडर्स सोसाइटीद्वारा पुस्तक साटासाट गरी मनाइयो पुस्तक दिवस

पोखरा :
र्‍यान्डम रिडर्स सोसाइटीले विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अवसरमा पुस्तक आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले पुस्तकका माध्यमबाट जीवन बुझ्न सघाउ पुग्ने धारणा राखे।
युनेस्कोले मानव जातिको आवश्यकतालाई महसुस गरी विभिन्न दिवसहरूको घोषणा गर्ने क्रममा स्थापित पुस्तक दिवस निकै महत्वपूर्ण भएको बताए । पुस्तक दिवसले पठन संस्कृतिको विकासमा विशेष भूमिका खेलेको उनको भनाइ थियो । कतिपयले पुस्तक देख्न नपाएका र देख्न पाए पनि पढ्न नपाएका व्यक्तिहरू आज पनि विश्वमा रहेको प्रसङ्ग कोट्याउँदै सरुभक्तले पढ्न बाँकी विश्वका मानिसले पनि पुस्तक पढन् पाउन् भन्ने कामना गरे।
सचिव नेपालप्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा उपस्थित करिब ५० जनाले एकापसमा पुस्तक साटासाट गरेर पुस्तक दिवस मनाएका थिए । सोसाइटी हरेक वर्ष २३ अप्रिलमा पुस्तक दिवसमा पुस्तक आदानप्रदानसँगै विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही अवसरमा सोसाइटीले साहित्यकार प्रकट पगेनी ‘शिव’ को स्मृतिमा श्रद्धाञ्जली सभा पनि सम्पन्न गरेको थियो । उनकै शोकमा सोसाइटीले वैशाख महिनाको नियमित कार्यक्रम स्थगित गरेको जानकारी सो अवसरमा दिइएको थियो ।
Leave A Reply

Your email address will not be published.