काठमाडौं :
बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर अनपेक्षित नतिजा ल्याइरहेको छ। नयाँ राजनीतिक शक्तिको रूपमा उदाएको रास्वपाले पुराना दलहरूलाई धक्का दिइरहँदा सोही पार्टी लक्षित अभिव्यक्तिका कारण अभिनेता राजेश हमाल भने विवादमा तानिएका छन्।
निर्वाचनको पूर्वसन्ध्यामा हमालले भिडियो सन्देशमार्फत पुराना राजनीतिक दलहरूलाई ‘राजनीतिक रूपमा परिपक्व’ भनेका थिए भने नयाँ शक्तिहरूको राजनीतिक दूरदर्शिता अझै स्पष्ट नभइसकेको बताएका थिए। यही अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ।
हमालले भिडियोमा भनेका थिए,‘भोट गर्दै गर्दा हामीमाझ चुनौती रहनेछ । किनभने पुराना र राजनीतिक परिपक्वता भएका दलहरूको धमिलिएको छवि र नयाँ शक्ति भनाउँदाहरूको राजनीतिक अपरिपक्वता तथा दूरदर्शिता नेपाली जनतामाझ अझै स्पष्ट छैन । यस्तो अवस्थामा चुनाव हुँदैछ, त्यसैले मतदाताका लागि छनोट सहज छैन ।’
उनले पुराना दललाई ‘परिपक्व’ र नयाँ शक्तिलाई ‘अपरिपक्व’ तथा ‘भनाउँदाहरू’ भनेर टिप्पणी गरेपछि सामाजिक सञ्जालमा धेरैले आपत्ति जनाएका छन् । कतिपयले उक्त अभिव्यक्तिलाई प्रत्यक्ष रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी लक्षित प्रहारका रूपमा व्याख्या गरेका छन् ।
रास्वपा समर्थकहरूले सामाजिक सञ्जालमा हमाललाई ‘पुराना दलको एजेन्ट’ र ‘परिवर्तन विरोधी’ भएको भन्दै आलोचना गरिरहेका छन्। केहीले उनलाई ‘आउटडेटेड कलाकार’ भनेर समेत टिप्पणी गरेका छन्।
यद्यपि, अभिनेता राजेश हमाल ले आफ्नो अभिव्यक्तिबारे उठेका आलोचना र विवादप्रति हालसम्म कुनै स्पष्टीकरण दिएका छैनन् । सार्वजनिक अभिव्यक्तिका कारण उनी विवादमा तानिएको सम्भवतः यो पहिलो पटक मानिएको छ।