उमेश के.सी,
आजको युगमा राजनीति यस्तो एउटा अपरिहार्य केन्द्रबिन्दु बनेको छ, जसको परिधिभित्र मानव जीवनका सम्पूर्ण आयामहरू समेटिएका छन्। प्राचीन कालमा शासनको भूमिका केवल न्याय र व्यवस्था कायम गर्नेमा सीमित हुने गर्दथ्यो, तर आज यसको क्षेत्र असीमित बनेको छ। जनस्वास्थ्य, संस्कृति, धर्म, भाषा, साहित्य, कला र विज्ञान जस्ता जनरुचिका हरेक विषय आज राजनीतिबाट प्रत्यक्ष प्रभावित छन्। शिक्षा, उत्पादन, व्यवसाय र निर्माण जस्ता क्षेत्रमा त यसको नियन्त्रण सुरुदेखि नै थियो, तर अहिले बिस्तारै–बिस्तारै हाम्रो जनजीवनको हरेक सानो कुनामा राजनीतिक प्रभाव स्पष्ट देखिन थालेको छ। जब जीवनको हर क्षेत्रमा यति सघन प्रभाव पार्ने राजनीति नै शासन तन्त्रभित्रका दोष र दुर्गुणले भरिन्छ, त्यसको सबैभन्दा ठूलो दुष्परिणाम सर्वसाधारण नागरिकले भोग्नुपर्ने हुन्छ।
वर्तमान परिस्थितिमा जब जनसाधारणको नैतिक, आर्थिक र शैक्षिक स्थिति निम्न स्तरमा छ, यस्तो बेला शासन सत्ता सञ्चालन गर्नेहरूको व्यक्तित्व उच्च आदर्श र उच्च चरित्रले परिपूर्ण हुन नितान्त आवश्यक छ। यथा राजा तथा प्रजा भन्ने प्राचीन उक्ति आज पनि उत्तिकै सान्दर्भिक छ। समाजका साना वर्ग र आम नागरिकले सधैँ ठूलो पद र व्यक्तित्वलाई हेरेर नै प्रभाव ग्रहण गर्ने र उनीहरूको अनुकरण गर्ने गर्दछन्। प्राचीन कालमा सन्त, ऋषि र प्रबुद्ध वर्गको उच्च व्यक्तित्वले राजा र प्रजा दुवैलाई नैतिक नियन्त्रणमा राख्ने गर्दथ्यो, जसका कारण जनताले आफ्नो जीवनको सही दिशा निर्धारण गर्न सक्थे। तर आज त्यो गुरुत्तर दायित्व शासन सञ्चालकहरूको काँधमा आइपुगेको छ। आज पत्रपत्रिका, सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरू नेताका भाषण, गतिविधि र योजनाले भरिएका हुन्छन्। समाजलाई बिगार्ने वा सुधार्ने मुख्य श्रेय र उत्तरदायित्व उनीहरूलाई नै जाने गर्दछ। त्यसैले, हीन भावना र चरित्रहीन शासक वर्ग कहिल्यै पनि जन-प्रेरणाको स्तम्भ बन्न सक्दैन।
आजको आधुनिक समाजमा देशले भोगिरहेको संकट केवल शिक्षित व्यक्तित्व, अर्थशास्त्री, वैज्ञानिक, डाक्टर वा इन्जिनियरहरूको अभावले मात्र उब्जिएको होइन। हामीसँग पर्याप्त स्रोत–साधन र दक्ष जनशक्ति नभएको पनि होइन। मुख्य समस्या त स्पष्ट दृष्टिकोण (Vision) सहितको दूरदर्शी सोच र त्योभन्दा पनि माथि इमानदारिता को खडेरी हुनु हो। आजको राजनीतिलाई उच्च नैतिकवान, उदार, संवेदनशील र उच्च चारित्रिक व्यक्तित्वको नितान्त आवश्यकता छ। एउटा सामान्य व्यावसायिक कम्पनीमा काम गर्ने कर्मचारीका लागि त इमानदारिता र चरित्र अनिवार्य सर्त मानिन्छ भने, सिङ्गो देशको भविष्य र करोडौँ जनताको भाग्यको बागडोर सम्हाल्ने व्यक्तिको व्यक्तित्व झन् कति उच्च र निष्कलंक हुनुपर्ला? यो प्रश्न आजको समयको सबैभन्दा गम्भीर प्रश्न हो।
विडम्बनाको कुरा, विश्वले आर्थिक सम्पन्नता र विज्ञानको क्षेत्रमा चरम शिखर चुमिरहँदा मानवीय नैतिकता भने झन–झन ओरालो लागिरहेको छ। शासन तन्त्र शक्तिशाली बन्दै गएको छ, तर त्यसमा हुनुपर्ने उच्च मानवीय संवेदनशीलता भने हराउँदै गएको छ। जब राजनीतिले जीवनका सबै स्रोत–साधनमाथि पकड जमाएको छ भने, त्यसलाई सञ्चालन गर्ने नेतृत्वको व्यक्तित्व र भावनाको स्तर पनि त्यति नै उच्च हुनुपर्दछ, ताकि जनताले दण्डको डरले होइन, बरु श्रद्धाले उनीहरूको अनुसरण गरून्। यदि यो नेतृत्वको क्षेत्र नै दुर्बल र अनैतिक बनिरह्यो भने भ्रष्टाचार र बेथितिको बिरालोको घाँटीमा घण्टी कसले बाँध्ने भन्ने अन्योल कायमै रहन्छ। जनताले सरकारलाई र सरकारले जनतालाई दोष देखाएर समस्यालाई ज्युँका त्युँ राख्ने दुष्चक्र मात्र चलिरहन्छ।
यही रिक्ततालाई पूर्ति गर्न अब हामी युवा र प्रबुद्ध व्यक्तित्वहरू राजनीतिमा सक्रिय चासोका साथ अग्रपंक्तिमा आउनुको विकल्प छैन। अहिलेको ‘Gen Z’ अर्थात् नयाँ पुस्ताको विद्रोह र आन्दोलनको गम्भीर माग पनि राजनीतिमा शुद्धीकरण र नैतिक नेतृत्व नै हो। राजनीति केवल शक्ति हत्याउने दाउपेच मात्र होइन, यो त समाजलाई सही दिशा दिने सेवा र त्यागको सर्वोच्च मार्ग हुनुपर्दछ। आगामी निर्वाचनहरूमा केवल दलीय आधारमा वा कुनै व्यक्तिको बाह्य आवरणका भरमा होइन, उम्मेदवारको इमानदारिता, योग्यता र उसको चरित्रको कसीमा घोटेर मात्र आफ्नो प्रतिनिधि छान्नु प्रत्येक जागरूक नागरिकको प्रथम कर्तव्य हो। जबसम्म उच्च नैतिक बल भएका व्यक्तिहरू नीति निर्माणको तहमा पुग्दैनन्, तबसम्म देशले अनैतिकताको दलदलबाट मुक्ति पाउने छैन। तसर्थ, लोकतान्त्रिक अभ्यासलाई जीवन्त तुल्याउन र समाजमा सच्चा प्रगतिको सञ्चार गर्न युवा र प्रबुद्ध वर्गको सशक्त राजनीतिक हस्तक्षेप आजको समयको अनिवार्य माग हो।
