पोखरा,
पोखरा–६ स्थित केदारेश्वर मन्दिर प्राङ्गणमा आयोजित खुला रक्तदान कार्यक्रममा १२३ युनिट रगत संकलन भएको छ।
‘आज अरूका लागि, भोलि आफ्नै लागि’ भन्ने नारासहित दारी ग्याङ्ग, पोखराको आयोजनामा सोमबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो।
दारी ग्याङ्गका वर्तमान संयोजक उज्ज्वल भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम सञ्चालन विश्वास भण्डारीले गर्नुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा संस्थापक संयोजक शेखर गौतम र पूर्व संयोजक अभिमन्यु पाण्डेको उपस्थिति थियो।

कार्यक्रमको सुरुवातमा वीरेन्द्र पराजुलीले स्वागत मन्तव्य राख्नुभएको थियो। त्यसपछि प्रादेशिक रेडक्रस रामघाट शाखाका इन्चार्ज महेन्द्र केसीले संस्थापक संयोजक शेखर गौतमलाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको औपचारिक सुरुवात गर्नुभएको थियो।
रक्तदान कार्यक्रममा तीर्थराज अवस्थीले ८५औँ पटक र वीरेन्द्र पराजुलीले ५५औँ पटक रक्तदान गर्नुभएको थियो।
कार्यक्रममा प्रहरी जवान, वी पोखरा टिम, लायन्स क्लब अफ पोखरा मर्दी हिमाल, हार्ट फर अर्थ फाउन्डेसन, लायन्स क्लब अफ पोखरा ब्युटिफुल सिटी, डब्ल्यूआरआर ग्रुपलगायत विभिन्न सामाजिक संघसंस्था तथा व्यक्तिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले रक्तदानको महत्व र सामाजिक सेवामा युवाको भूमिकाबारे शुभकामना मन्तव्य राखेका थिए।
रक्तदान कार्यक्रम अवधिभर रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रमबाट संकलित १२३ युनिट रगतले आवश्यकतामा रहेका बिरामीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।