सन्तोष बस्याल
पोखरा ।
पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापनाका माग गर्दै आएको राष्ट्र गौरव अभियानले शैक्षिक व्याख्यान कार्यक्रम गरेको छ । आइतबार पोखरा सभागृहमा आयोजना गरिएको कार्यक्रममा पोखराका विद्यार्थीले इतिहास बुझे । वरिष्ठ संस्कृतिविद एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा.जगमान गुरुङले नेपालको ऐतिहासिक वस्तुस्थितिका विषयमा विद्यार्थीलाई जानकारी गराए ।
गुरुङका वाणीलाई विद्यार्थीहरुले ध्यानपूर्वक सुनेका थिए । सभागृह हलमा उपस्थिति बाक्लो थियो । गुरुङले जीवको सृष्टी नेपालमा भएको उल्लेख गरे । उनले विश्वको गर्भाधारण शालिग्राम बाट भएको बताए । नेपालका वैज्ञानिकहरुको प्रतिस्पर्धा पश्चिमली वैज्ञानिकसँग भएता पनि डराउनुपर्ने स्थिति सिर्जना भएको प्रति उनले दुख व्यक्त गरेका छन् । नेपाल विश्वको आध्यात्मिक केन्द्र हुँदाहुँदै पनि पछाडी पर्नुपर्ने स्थिति भएको भनाई उनको छ । ‘हामी कस्तुरी जस्तै भयौ । आफैबाट आएको सुगन्धित बास्नाका विषयमा पत्ता लगाउन सकेनौं ।’, उनले भने ।
उनले विश्वले पृथ्वीनारायण शाहलाई हेरिरहेको र पृथ्वीचोकमा पृथ्वीनारायण शाहको पूर्ण कद सहितको शालिक पुर्नस्थापना गर्नुपर्ने बताए । नेपालको गौरवमय इतिहास नबुझदा आज नेपाली नेपालीबीच नै भेदभाव सिर्जना भएको अभिव्यक्ति उनको छ । ‘हामी नेपाली सुतेर बसेका छौ । हाम्रो गौरव मय इतिहास बुझेका छैनौ । इतिहास पढ्न पर्यो । अङ्ग्रेज लाई जितेको इतिहास छ ।’, उनले भने ।
इतिहास जोगाउन पोखरा ब्युझिएको देख्दा खुशी लागेको उनले बताए । पृथ्वीनारायण शाहको मात्रै कुरा नभई नेपाली राष्ट्रियताको विकासमा सबै एक भएर लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।
उनले सत्ता बलियो नहुँदा राज्य संरचनामा असर पर्ने र त्यसको संरक्षणमा लाग्नुपर्ने बताए ।
प्राध्यापक दिल बहादुर क्षेत्रीले राष्ट्र गौरव अभियानले आयोजना गरेको शैक्षिक व्याख्यान कार्यक्रम नेताका लागि नभई विद्यार्थीका लागि भएको बताए । ‘हामीले जसलाई सुनाउनुपर्ने थियो उसैलाई नै सुनाएका छौं । पार्टीको नेताको निर्देशनमा चल्ने विवेक हराएका हरुलाई सुनाउने कार्यक्रम होइन ।’, उनले भने ।
उनले कुनै पनि आधारमा मुलुकलाई टुक्राउने अधिकार कसैमा नभएको बताए । एकतायुक्त समाज नेपाली समाज भएको उल्लेख गर्दै पृथ्वीनारायण शाहले एकीकरण गरेको इतिहासलाई भुल्न नहुने भनाई उनको छ ।
राष्ट्र गौरव अभियानका संयोजक सिरोजविजय कोइरालाले पृथ्वीनारायण शाह नेपालीको परिचय भएको बताए । गौरव गर्नुपर्ने विषयलाई मेट्न खोजिएको भन्दै यसको संरक्षणमा राष्ट्र गौरव अभियान लागेको उनले उल्लेख गरे । ‘गौरव गर्नुपर्ने कुराहरु समयसँगै धमिलो हुँदै गएको छ । नयाँपुस्तामा नेपाल हाम्रो भविष्य होइन कि भन्ने मानसिकताको विकास भएको छ । अर्काको देशमा गएर जीवनयापन गर्ने सोचको विकास भएको छ ।’, उनले भने ।
उनका अनुसार नेपाल अक्षुण छ । नेपाललाई कसैले चलाउन नसक्ने उनले बताए । ‘नेपालमा हाम्रो भविष्य छ । हामी सबै एकठाउँमा उभिनुपर्छ । हामीले देखेको विकसित देश हामीले नै बनाउनु पर्छ । राष्ट्र गौरव अभियान सोहि जागरणका साथ अगाडि बढेको छ ।’, उनले भने । कार्यक्रमलाई सचिव अर्जुन खनालले संचालन गरेका थिए । कार्यक्रममा सह—सचिव अभिमन्यु पाण्डे, प्रवक्ता अरुण गिरी सहितको उपस्थिति थियो । राष्ट्र गौरव अभियानले पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापनाका लागि यसअघि पनि विभिन्न दबाबमुलक कार्यक्रम गर्दै आएको छ ।