काठमाडौं:
निर्माणाधीन नेपाली फिल्म ‘बलिदान’को मुख्य भूमिकाहरु मध्ये एकमा अभिनेत्री ऋचा शर्मालाई अनुबन्ध गरिएको छ। निर्माण टिमले बिहिबार फिल्मका लागि शर्मासँग कागजी सम्झौता गरेको हो।
फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले शर्माले निभाउने भूमिकाको विषयमा भने खुलाएका छैनन्। यद्यपि उनी फिल्मको प्रमुख भुमिका रहेको उनले बताए। आगामी वर्ष २०८१ मा रिलिज हुने ‘बलिदान’बाट प्रमुख अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्दैछन्। समीर नेपाली फिल्ममा एक्सन हिरोको रूपमा प्रख्यात बिराज भट्टका छोरा हुन्।उनले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए ।
सन्तोषको मेगा प्रोजेक्टको रूपमा रहेको ‘बलिदान’को टिजर छायाङ्कन अगावै रिलिज भई व्यापक चर्चामा रहेको छ। सम्भवतः नेपाली फिल्मको इतिहासमा नै पहिलो पटक प्री–प्रडक्शनमा रहँदा नै टिजर रिलिज भएको हो।
देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो फिल्ममा रहने निर्देशक सेनले जानकारी दिए । यो फिल्मलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।
आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन्।