काठमाडौं :
बलिउड फिल्म ‘वार २’ को ट्रेलर सार्वजनिक गरिएको छ। ऋतिक रोशन, जुनियर एनटीआर र कियारा आडवाणी मुख्य भूमिकामा रहेका फिल्मको ट्रेलर एक्शन, रोमांस र तीव्र संवादले भरिएको छ।
दुई मिनेट ३५ सेकेन्डको ट्रेलरमा ऋतिक र एनटीआरबीचको भिडन्त, झनझनाउँदो स्टन्ट र देशप्रेमको भाव व्यक्त गरिएको छ। ट्रेलर ऋतिकको संवादबाट सुरु हुन्छ, जसमा उनले आफ्नो नाम, परिचय र परिवार त्यागेर छायाँ बन्ने घोषणा गर्छन्। त्यसपछि देखाइएका दृश्यहरूले फिल्मले प्रस्तुत गर्न खोजेको राष्ट्र र कर्तव्यको मुद्दा झल्काउँछ।
ट्रेलरमा भागवत गीताको प्रसिद्ध श्लोक ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदचन’ प्रस्तुत गरिएको छ, जसको अर्थ कर्तव्यमा ध्यान दिनु,फलको अपेक्षा नगर्नु हो। ट्रेलरमा एनटीआरले पनि आफू मान्छे नभई अब शुद्ध रूपमा ‘हतियार’ भएको घोषणा गरेका छन्।
यो फिल्म सन् २०१९ मा आएको एक्सन हिट ‘वार’को सिक्वेल हो। निर्देशन अयान मुखर्जीले गरेका छन् भने निर्माण यशराज फिल्म्सले गरेको हो। फिल्म ‘YRF स्पाई युनिभर्स’को छैठौं श्रृंखला हो, जसअन्तर्गत ‘पठान’, ‘टाइगर’ र ‘टाइगर ३’ जस्ता फिल्महरू परिसकेका छन्। फिल्म आगामी साउन ३० गते (१५ अगस्ट) मा हिन्दी, तेलुगु र तमिल भाषामा एकसाथ प्रदर्शनमा आउनेछ।