पोखरा,
गण्डकी प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन भइरहेका राइड सेयरिङ सेवा प्रदायक प्लेटफर्मलाई ३० दिनभित्र दर्ता गर्न निर्देशन दिएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले असार १८ गते सूचना जारी गर्दै प्रदेशभित्र राइड सेयरिङ सेवा सञ्चालन गर्न चाहने सेवा प्रदायकले तोकिएको प्रक्रिया पूरा गरी दर्ता गर्नुपर्ने जनाएको हो ।
मन्त्रालयका अनुसार हालसम्म दर्ता इजाजतपत्र नलिई सञ्चालनमा रहेका कम्पनी, संस्था, व्यक्ति तथा प्लेटफर्महरूले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित कार्यालयमा आवश्यक कागजातसहित दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ । तोकिएको अवधिभित्र दर्ता नगरी सेवा सञ्चालन गरेको पाइएमा प्रचलित नियमावली तथा अन्य कानुनबमोजिम कारबाही र जरिवाना गरिने चेतावनी मन्त्रालयले दिएको छ ।
मन्त्रालयले राइड सेयरिङ सेवालाई कानुनी दायराभित्र ल्याई व्यवस्थित, सुरक्षित र उत्तरदायी बनाउन दर्ता प्रक्रिया अनिवार्य गरिएको जनाएको छ ।