सुचना, समाचार र मनोरन्जन

संरक्षणकर्मी आरके अदीप्त गिरी सम्मानित

 

पर्वत : वातावरण संरक्षणका लागि महाअभियान कास्कीले नागरिक समाज कास्कीको सहयोगमा कालीगण्डकी बचाऔं अभियानका अभियन्ता, कवि, पत्रकार एवम् संरक्षणकर्मी आरके अदिप्त गिरीलाई पर्वत सदरमुकाम कुश्माबजारस्थित ‘शताब्दी घर’ मा पुगेर सम्मान अर्पण गरिएको छ ।

कालीगण्डकी बचाऔं अभियानमार्फत नागरिकमा प्रकृति रक्षाको जागरण फैलाउनुका साथै ‘शताब्दी घर’ सांस्कृतिक सङ्ग्रहालय मार्फत संस्कृति एवं ऐतिहासिक सम्पदा संरक्षणमा उल्लेखनीय योगदान पुराएको भन्दै गिरीलाई वातावरण तथा सम्पदा संरक्षण सम्मानद्वारा सम्मान गरिएको हो । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरन्जीवि शर्माले सम्मानपत्र, अभियानका संयोजक रामबहादुर पौडेले माला र नागरिक समाज कास्कीकी सहसंयोजक दुर्गाकुमारी शर्माले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

गिरीलाई सम्मान गर्दै मुख्य न्यायाधिवक्ता चिरन्जीवि शर्माले कालीगण्डकी कुनै पनि बहानामा दोहन हुनु दुखद रहेको बताए । उनले जल र जीवनको सम्बन्ध अनोन्याश्रित हुने भन्दै मान्छेको अधिकारजस्तै कुनै पनि प्राकृतिक सम्पदा जीवित रहन र निर्वाध आफ्नो बाटोमा हिड्न पाउने अधिकार रहेको जनाए । कालीगण्डकी हिन्दू धर्मालम्बीहरुको मात्र धार्मिक आस्थाको रुपमा नभै कालीगण्डकीलाई २४ तान्त्रिक स्थानमध्ये एक मान्ने गरेको प्रसंङ्ग उल्लेख गरे ।

‘सभ्यताको जननी नदीलाई भावी पुस्तालाई सही रुपमै बुझाउनु पर्छ,’ शर्माले भने, ‘संरक्षण राम्रो, समसामयिक र उदाहरणीय कार्य हो ।’ अहिले नदीमा मापदण्डविपरीत क्रसर उद्योग संचालन गरिएको, जथाभावीरुपमा गिटी, बालुवा थुपारेर केही कार्यकर्ता पाल्ने र पोस्ने मात्रै काम भएको उनले बताए । नदी दोहनलाई कानुनमार्फत व्यवस्थापन गर्न खोजिएको भन्दै उनले बिकास र वातावरणलाई मिलाएर लैजानु पर्ने बताए ।

कालीगण्डकी किनारामा मुक्तिनाथदेखि देवघाटसम्मका दर्जनौँ पवित्र धार्मिक स्थल छन्, जहाँ एक पटक दर्शन वा पूजापाठ गर्न हजारौं धर्वालम्बी लालायित छन् । यसैगरी स्कन्द पुराण कृष्णभाया (कृष्ण गण्डकी वा कालिगण्डकी) नुहाइसकेपछि प्रयाग वा कुरुक्षेत्रमा नुहाउनु भन्दा पापबाट मुक्ति पाउन सय गुणा सहज हुन्छ भन्ने मान्यता रहेको छ । यति मात्र होइन, मोक्षप्राप्तिका लागी विश्वभरबाट लाखौँ हिन्दूहरू यस नदीको स्नान गर्न आउँछन् । एकपटक कालीगण्डकीमा स्नान नगरी मरेको मानिसले मोक्षप्राप्ति गर्दैन भन्ने कथन वेद पुराणमा रहिआएको मत मुख्य न्यायाधिवक्ता शर्माले बताए ।

कुश्मा नगरपालिका कार्यपालिका सदस्य सविता विश्वकर्माले गिरीको अभियानमा साथ दिने बताईन् । वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलले अहिले मुुलुकमा गर्न नहुने र नपर्ने काम भएको तर गर्नुपर्ने काम नहुने गरेको बताए । अपराधलाई राजनीतिकरण र राजनीतिलाई अपराधीकरण गर्ने चलन अहिले भइरहेको मा उनको दुख मनाउ गरे ।

‘समाजमा असल कर्म गर्न चाहने व्यक्ति देशभक्ति हुन्छ’, उनले भने, ‘अपार सम्पदाको खानी कालीगण्डकी नदी दिनदिनै दोहन भएको छ । कोही कसैले आवाज नउठाउँदा गिरीले संरक्षण अभियान थालेको कामबाट प्रभावित भएर आज हामी यहाँ आएका हौ ।’ सम्मानित व्यक्तित्व गिरीजस्ता संरक्षणकर्मी पाउनु कुश्मा र यस क्षेत्रको अहोभाग्य रहेको भन्दै उनले गिरीको अभियानमा सबैले साथ दिनुपर्नेमा जोड दिए ।

कालीगण्डकी बचाऔं अभियानसंगै गिरीले कला, साहित्य र संस्कृति संरक्षणमा पनि लागिपरेको उनको भनाई थियो ।
सम्मानित व्यक्तित्व गिरीले शालिग्राम पाउने एकमात्र र पाषाणकालिन सभ्यतासंग जोडिएको कालीगण्डकी नदी दोहन हुँदा पनि कोही कसैले रोक्न र आवाज उठाउन नसकेको बताए । ‘एकाध व्यक्तिको लाभ, स्वार्थ र दादागिरीमा नदी कब्जा गरिएको छ’, उनले भने, ‘सांसद, जनप्रतिनिधि, नेता, पत्रकार, प्रशासनलगायत यसमा बोल्दैनन् ।’ नेपाल जलवायु परिवर्तन, जैविक विविधतामा ह्रास र वायु प्रदुषणको उच्च मारमा पर्दै गएको भन्दै उनले कालीगण्डकी नरहे कोही पनि नरहने जिकिर गरे ।

‘जीवनको स्रोत नदी भएकाले यसलाई बचाउन सबैले संकल्प गरौं’ गिरीले भने —’कालीगण्डकी नदी सभ्यताको जननी मात्रै होइन, जीवन पनि हो। यसै नदीको नामबाट ‘गण्डकी प्रदेश’ को नामकरण हुनुले पनि नदी र यो सभ्यताको अन्योन्याश्रित सम्बन्धलाई प्रष्ट पार्छ। गण्डक सभ्याताभित्रको विभिन्न संस्कृति, प्रदेशवासीको आस्था र जीवन कालीगण्डकी नदीसँग जोडिएको छ। यस्तो गम्भीर विषयलाई उपेक्षा गरी सिङ्गो नदीलाई अर्कोतर्फ मोड्ने, बाँध बाँध्ने, दोहन गर्ने, मलमूत्र, फोहोरजस्ता घातक काम र परियोजना लियाइनु गण्डकीवासीको आस्था र संस्कृतिमाथिको खेलबाड हो ।

जल, जमिन, जंगल आदीको अस्तित्व रक्षा, सामाजिक एवम् पर्यावरणीय न्यायका पक्षमा लामो समयदेखि काम गर्दै आएको सामाजिक संस्थाबाट आफू सम्मान र पुरस्कृत हुन पाउँदा खुशी महसुस भएको र यस सम्मानले संरक्षण क्षेत्रमा थप काम गर्ने हौसला र आशिर्वाद मिलेको प्रतिक्रिया मन्तव्यका क्रममा गिरीले राखे । ‘कालीगण्डकी नदी केवल नदी मात्र नभएर समग्र राष्ट्रको एउटा विशिस्ट जिवित सम्पदा र सभ्यता हो । कुनै वैज्ञानिक अध्ययन र अनुसन्धान बिना केही व्यक्तिको राजनीतिक दाउपेच र स्वार्थका लागि ठेक्का लगाइनु विडम्बनापूर्ण छ । यो सरासर प्रकृतिमाथिको हस्तक्षेप र अपराध हो । यसका विरुध्द सबै नागरिक एकजुट भएर लड्नुको विकल्प नरहेको उनले बताए ।

नागरिक समाज कास्कीका सहसंयोजक दुर्गाकुमारी शर्माले संरक्षणका एउटा अथक योद्धालाई सम्मान गर्न पाउँदा खुशी लागेको बताइन । विश्वमा कहिं नपाइने शालिग्राम पाइने यो पवित्र र अनुपम नदीका किनारमा दर्जनौं धार्मिक स्थल र पवित्र घाटहरु छन् । यिनको अस्तित्व रक्षा र नागरिक जीवनको सवाललाई लिएर नदी, सभ्यता, संस्कृति, प्रकृति-पर्यावरणको पक्षमा लामो समयदेखि लढ्दै भिड्दै आएका गिरीलाई अब सबै सचेत नागरिकले साथ दिनुपर्ने बेला आएको भन्दै उनले गिरीलाई भविष्यमा पनि अभियानमा लागिरहन उर्जा थपियोस् भन्ने कामना गरिन् ।

मानवअधिकार रक्षक संजाल गण्डकी प्रदेशका महासचिव माधव पौडेलले कालीगण्डकी नदी दोहनमा परिरहँदा कोही पनि यसबिरुद्ध खुलेर बोल्न नसकेको बताए । ‘सेतोलाई सेतो भनेर सत्य बोल्दा मलामी घट्छन भन्ने गरिन्छ’, उनले भने, ‘गिरीको यो सम्मानले अब कुश्माबासी ब्युझिन्छन्कि भन्ने लागेको उनले प्रतिक्रिया दिए ।’ रक्षक नै भक्षक भएको देश हो यो । शक्तिमानलाई जे गरे भएको छ यहाँ । आरके अदीप्त गिरीजस्ता प्रबुध्द समाज बुझेका युवालाई यहाँ एक्लो पारिएको छ । समाज खै कता जाँदैछ ? उनले प्रतिप्रश्न गर्दै गिरीलाई जति सक्छौं त्यति हौसला र साथ दिनुपर्ने धारणा राखे ।

सात सहायक नदीले कालीगण्डकी जलप्रणालीलाई पूर्णता दिएको छ । ६ सय ३४ किलोमिटर लम्बाई र २६ हजार वर्ग किलोमिटर जलप्रबाह भूमीमा गण्डकी नदी फैलिएको छ । चीन, नेपाल हुँदै भारतसम्म ८ सय १० किलोमिटरमा धाक लिएर फैलिएको कालीगण्डकी नदीलाई भारतमा गण्डक नदीका नामले चिनिन्छ ।

Leave A Reply

Your email address will not be published.