पोखरा : चलचित्र ‘द्रौपदी’ नेपाली समाजमा देखिने बहुपति प्रथा, महिला सशक्तीकरण, र ग्रामीण हिमाली जीवनशैलीको कथा बोकेको चलचित्र हो। लामो समय देखि चलचित्र निर्देशन गर्दै आएका ऋषिराज आचार्यको लेखन तथा निर्देशनमा तयार भएको सिनेमामा वास्तविकता झल्काउने कथा, सुन्दर दृश्यहरू, र प्रभावशाली अभिनयको संयोजन गर्न खोजिएको छ। कर्णाली क्षेत्रमा छायांकन गरिएको भएर पनि होला सिनेमामा सुन्दर दृश्यहरु समेटिएको छ।
कथावस्तु र सन्देश : चलचित्रको शीर्षक ‘द्रौपदी’ महाभारतको पात्र द्रौपदीसँग मेल खाए पनि, यसको कथा भने नेपालको ग्रामीण समाजमा आधारित छ। विशेष गरी कर्णाली क्षेत्रको पृष्ठभूमिमा बनाइएको यो चलचित्रले त्यहाँको बहुपति प्रथासँगै महिला अधिकार, समाजको सोच, र नारी संवेदनालाई उजागर गर्ने प्रयास गरेको छ।
चलचित्रले एउटा महिलाले एकभन्दा बढी पतिसँग विवाह गर्नुपर्ने बाध्यता, त्यसको सामाजिक प्रभाव, र एक महिलाको संघर्षलाई बोल्छ। जसमा कुनै धर्म वा परम्परालाई समर्थन गर्ने उद्देश्य नराखी बरु दर्शकहरूलाई समाजको वास्तविकतालाई बुझ्न प्रेरित गर्ने गरि निर्देशकले काम गरेका छन्।
प्रमुख पात्र र अभिनय : यस चलचित्रमार्फत नेपाल आइडल विजेता रवि ओडले अभिनय क्षेत्रमा डेब्यु गरेका छन्। उनको अभिनय औसत नै छ। चलचित्रकी मुख्य पात्र आश्विनी शाही “द्रौपदी” को अभिनय प्रशंसा गर्ने लायक छ। उनको अभिनयले दर्शकको ध्यान खिच्छ। निर्देशक आचार्य आफै पनि अभिनय मार्फत पर्दामा देखिएका छन्। साथै, अन्य कलाकारहरूको पनि कथानुसारको प्रस्तुति ठिकै लाग्छ। चलचित्रको पात्रहरूले ग्रामीण भेगको जीवनशैलीलाई जीवन्त बनाउन संवादमा त्यहीँको लवजलाई ध्यान दिएको पाइन्छ।
चलचित्रको छायाङ्कन र दृश्यहरू : चलचित्रको छायाङ्कन कर्णाली क्षेत्रको डोल्पामा गरिएको भएर पनि होला दृश्यहरु सुन्दर देखिएका छन्। त्यहाँको सेफोक्सुण्डो तालको दृश्य सिनेमामा लोभलाग्दो छ। स्थानीय संस्कृतिको झल्को, र वास्तविक जीवनशैलीको चित्रणले चलचित्रलाई आकर्षक बनाएको छ। त्यहाँका बासिन्दाहरूको वास्तविक जीवनशैली, रहनसहन, र परम्परालाई प्रामाणिक रूपमा प्रस्तुत गर्न छायाङ्कन टोलीले निकै मेहनत गरेको छ। छायाङ्कन गर्नु चुनौतीपूर्ण भए पनि टिमले उत्कृष्ट दृश्यहरू कैद गर्न सफल भएको छ।
संगीत र प्रविधि : चलचित्रमा समावेश गरिएको संगीतले कथावस्तुसँग मेल खाने गरी तयार पारिएको छ। मौलिकता झल्काउने संगीत र पार्श्वसंगीतले कथालाई थप प्रभावशाली बनाएको छ। रवि ओड र इन्द्रकला राईले गाएको कर्णाली काटौला गीत दर्शकको रुचीमा पर्छ। प्राविधिक रूपमा पनि चलचित्र राम्रो स्तरको छ। सिनेमाटोग्राफी, भिएफएक्स, र सम्पादन पक्षमा राम्रो काम देखिन्छ।
चलचित्रको प्रभाव र दर्शकहरूको अपेक्षा : ‘द्रौपदी’ नेपाली समाजको मौलिक कथालाई पर्दामा ल्याउने कोशिस हो। विशेष गरी ग्रामीण समाजमा देखिने महिला सशक्तीकरणको विषयलाई उठान गर्नु यस चलचित्रको मुख्य विशेषता हो।
चलचित्र प्रदर्शन हुनु अघि नै केही अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा छनोट भइसकेको छ, जसले यसको गुणस्तर दर्शाउँछ। नेपाली दर्शकहरूले मौलिक कथावस्तु भएका चलचित्र मन पराउने प्रवृत्ति देखिएकोले, ‘द्रौपदी’ दर्शकको रोजाईमा पर्छ भन्ने अनुमान गर्न सकिन्छ।
सुझाव : चलचित्रमा “द्रौपदी” को कथा एउटा परिवारमा मात्र समेटिएको जस्तो लाग्छ। चलचित्रका पात्र साइलाको घरमा मात्रै बहुपति प्रथा झल्काइएको छ। समाजका अन्य परिवारमा समेत भएको उक्त प्रथालाई चलचित्रमा देखाएको भए अझ राम्रो हुन्थ्यो। भेषभुषा पनि आधुनिक नभई त्यहीँको स्थानीय भएको भए राम्रो हुन्थ्यो। ब्याकराउन्ड म्युजिक र साउन्डमा अलिक काम गर्न सकिन्थ्यो। कथा गम्भीर छ, जसका लागि उपयुक्त पात्रको छनोट गरेको भए सिनेमा अझ राम्रो बन्थ्यो।
निष्कर्ष : ‘द्रौपदी’ केवल एउटा साधारण चलचित्र नभई, नेपाली समाजको यथार्थपरक कथालाई प्रस्तुत गर्ने महत्त्वपूर्ण चलचित्र हो। नेपाली समाज, संस्कृति, र परम्परामा आधारित गम्भीर विषयवस्तु मन पराउने दर्शकहरूलाई यो चलचित्र हेर्न आग्रह गर्दछु। कमिकमजोरी हुँदाहुँदै पनि चलचित्रको विषयवस्तु र कर्णाली क्षेत्रको सुन्दर दृश्यले दर्शकको ध्यान खिच्छ। जसमा निर्माण टीमले राम्रो मिहिनेत गरेको छ।
सन्तोष बस्याल