पोखरा,
सद्गुरुको संस्था ईशा नेपालले नेपाल–तिब्बत सीमामा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
बाढीका कारण ज्यान गुमाएका तथा पीडित परिवारप्रति समभाव प्रकट गर्दै नेपालको दुःखमा ऐक्यबद्धता जनाउन पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा सद्गुरुले सहयोगको घोषणा गर्नुभएको हो। कार्यक्रममा करिब ३ हजारभन्दा बढीको सहभागिता थियो।
कार्यक्रममा अभिनेत्री मनिषा कोइराला, काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायतको उपस्थिति थियो।
अभिनेत्री कोइरालाले नेपालले पटक–पटक प्राकृतिक विपद्को सामना गर्नुपरेकोमा दुःख व्यक्त गर्दै जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल, भारत र चीन एकजुट हुनुपर्ने बताउनुभयो।
सद्गुरुले यस्ता विपत्तिका लागि नेपाल सरकारलाई मात्र दोष दिन नहुने बताउँदै विश्व समुदायले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो। बढ्दो जलवायु परिवर्तनबाट हिमाली क्षेत्रमा निम्तिन सक्ने विपद् न्यूनीकरणका लागि नेपालसहित छिमेकी राष्ट्रहरू एकजुट भएर हिमाली क्षेत्रको व्यवस्थापनमा अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
उहाँले विपत्तिपछि हतारमा अव्यवस्थित पुनर्निर्माण गर्नुभन्दा विज्ञहरूको टोली बनाएर वैज्ञानिक र दीर्घकालीन रूपमा पुनर्स्थापना गर्नुपर्ने सुझावसमेत दिनुभयो। यसबाट भविष्यमा हुन सक्ने क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो।
सद्गुरुले ईशा नेपालले प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक परे अन्य माध्यमबाट समेत सहयोग गर्न संस्था तयार रहेको बताउनुभयो।