काठमाडौं :
फिल्म ‘१२ गाउँ’बाट अभिनेताका रुपमा डेब्यु गरेका समिर भट्ट अभिनित दोस्रो फिल्मको फोस्टर रिलिजसँगै प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमले शुक्रबार फिल्म ‘बलिदान’को दुईथान पोस्टर रिलिज गर्दै औपचारिक रूपमा प्रदर्शन मिति आगामी दसैंको फूलपातीलाई तोकेका हुन्।
निर्देशक सन्तोष सेन नेतृत्वको निर्माण टिमले यो फिल्मलाई २०८२ असोज १३बाट प्रदर्शनमा ल्याउने निर्णय गरेको हो। निर्देशक सेनले प्रमुख कलाकार समीर भट्टको दुई पोस्टर लुक्स सार्वजनिक गर्दै यो फिल्ममा नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको सङ्घर्षमा केन्द्रित रहेको उल्लेख गरेका छन्।
एक पोस्टरमा पृष्ठभूमिमा कालिमातालाई राखिएको छ भने समीरले हातमा त्रिशूलसहितको ठुलो हतियार बोकेका छन्, जहाँ उनी आफ्नो लक्ष्य पुरा गरेपछिको भावमा देखिएका छन्। निर्देशक सेनका अनुसार यो पोस्टरमा समीरले दानव प्रवृत्तिका मानिसहरूको बलि चढाएपछिको दृश्य हो। दोस्रो पोस्टरमा समीर यत्रतत्र छरिएका लासहरूको बीचमा छन्, जहाँ उनले एक व्यक्तिको खुट्टा समाई लतारिरहेका छन्। यो पोस्टरले समीर नरसंहारमा रहेको सङ्केत गर्छ।
निर्देशक सेनका अनुसार ‘बलिदान’ निर्माणको निर्णय लिनु मात्र सहज थिएन, यसको तयारी, छायाङ्कन र सम्पादन प्रक्रियामा टिमले अपार मेहनत गर्नुपरेको छ ।
पत्रकारसँगको कुराकानीमा उनले भने, ‘जब मैले यो चलचित्र निर्माण गर्ने सोच बनाएँ, तब यति ठुलो बलिदान दिनुपर्छ भन्ने कल्पनासम्म गरेको थिइनँ । जीवनभर बगाएको रगतपसिनामध्ये सबैभन्दा धेरै यसैमा बगाएको महसुस भएको छ।’
फिल्मको कथा लेखकहरूसँगको निरन्तर संवादपछि तयार पारिएको सेनले जनाए। उनका अनुसार यो कुनै एउटा समयको कथा मात्र नभई, हिजो, आज र भोलीसम्मको सन्देश बोकेको छ । शोषित वर्गको आवाज बुलन्द पार्न कुनै सम्झौता नगरिएको उनले बताएका छन्। कलाकार छनोटदेखि प्रविधि र प्रविधिजन्य पक्ष, निर्माण व्यवस्थापन, गीत(सङ्गीत र सम्पादनसम्म उच्च स्तरको बनाउन अहोरात्र परिश्रम गरिएको उनले उल्लेख गरे ।
अहिले यो फिल्मको प्रिप्रोडक्सन प्रक्रिया अब पूर्ण भएको र पोस्टप्रोडक्सनको लागि दक्षिण भारतीय चलचित्र उद्योगको प्रविधि र सीप उपयोग गरिरहेको सेनले जानकारी दिए। फिल्म को ‘फर्स्ट ल्यान्डिङ’ प्री(टिजर एक वर्षअघि सार्वजनिक गरिएको थियो, जसमा २०८१ सालको फूलपातीलाई रिलिज मिति तोकिएको थियो। तर, अझ उत्कृष्ट प्रस्तुति दिनका लागि एक वर्षको थप समय लिइएको सेनले प्रस्ट्याएका छन्।
दक्षिण भारतीय चर्चित एक्सन निर्देशक स्टन्डर साम को नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिबाट एक्सन दृश्य खिचेको यो फिल्मको विशेष गरी क्लाइमेक्स दृश्यका लागि बुढासुब्बा मैदानमा ४२ फिट अग्लो कालीमाताको भव्य मूर्ति निर्माण गरिएको थियो । जसले निकै चर्चा बटुलेको थियो।
यो फिल्ममा समिरका अलवा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरूले अभिनय गरेका छन्। आर्टमान्डु टिमको संगीत रहने यो फिल्ममा गायक सुजन चापागाईँ, गीतकार हर्क साउद र निर्देशक नवीन चौहान सहितको समूहले गीत ब्याकग्राउन्ड म्युजिक र अन्य साङ्गीतिक पक्षमा काम गरिरहेको छ।
‘आसुसेन फिल्म्स् प्रा.ली.’को प्रस्तुति रहेको यो फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताको रूपमा संलग्न छन्।