सुचना, समाचार र मनोरन्जन

खेलाडीहरूको फिल्म बन्नुपर्छ भन्ने बाटो खुलेको छ : गोलरक्षक तथा अभिनेत्री एन्जिला

काठमाडौं :

आगामी फागुन २९ गते रिलिज हुने नेपाली फिल्म ‘अञ्जिला’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा रहेको छ।

काठमाडौंमा आयोजित ट्रेलर सार्वजनिक समारोहमा एन्जिलाले आफूले बिर्सन नहुने धेरै नामहरू रहेको र त्यसमा निर्देशक मिलन चाम्स थपिएको बताइन्।
उनले भनिन्,‘म मिलन दाइलाई पनि जिन्दगीभर भुल्दिनँ। पहिले म डराउँथेँ तर आजकल आफ्नै दाइ हो जस्तो लाग्छ । मेरो कथा उहाँहरूकै जिम्मामा छोडेर जाँदैछु । हृदयदेखि नै आभारी छु । मैले सोचेको पनि थिइनँ कि मैले दयाहाङ राईसँग फिल्म खेल्छु भनेर । उहाँ जस्तोसुकै अवस्थामा पनि खेलमा समर्पित हुनुहुन्थ्यो।’

उनले आफू काठमाडौं आएदेखि गड फादर बनेर बाटो देखाउने प्रेम कुमार श्रेष्ठलाई धन्यवाद दिँदै भनिन्, ‘म आज जुन बाटोमा छु उहाँले गर्दा नै छु। मेरो मात्र नभएर अन्य खेलाडीहरूको फिल्म पनि बन्नुपर्छ भन्ने बाटो खुलेको छ।’

एन्जिलाले आफू १३ वर्ष हुँदा पनि मैले ६० किलोको चामलको भारी बोक्ने गरेको बताउँदै छायाङ्कनमा खासै अप्ठ्यारो नलागेको जनाइन्।

कार्यक्रममा निर्देशक चाम्सले यो फिल्ममा अधिकांश राष्ट्रिय खेलाडीहरूले अभिनय गरेको जुन कुरा निकै गाह्रो भएको बताए। उनले गैर कलाकारलाई अभिनय गराउनु अत्यन्त कठिन रहेको बताउँदै दयाहाङ राईलाई दुई वर्ष पर्खेर अभिनय गराएको बताए। फिल्मका निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठले यो फिल्मको कथा फुटबलभन्दा पनि अञ्जिलाको कथा मुख्य रहेको बताए।

अभिनेता दयाहाङ राईले आफू हरेक नेपाली खेलको प्रशंसक र दर्शक रहेको बताउँदै महिला फुटबल टोलीको म ठुलो फ्यान रहेको जनाए।
उनले पत्रकारसँगको कुराकानीमा भने,‘कप्तानको फिल्म बन्दैछ भनेपछि भूमिका के हो समेत थाहा नपाई काम गर्न सहमत भएँ। यसको लागि म जिन्दगीभर ऋणी हुनेछु।’
फिल्ममा सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन्। यस फिल्मको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको थियो । छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन्। मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह(निर्माता हुन्।

Leave A Reply

Your email address will not be published.