पोखरा,
गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तारसँगै विवाद चर्किएको छ । मन्त्री नियुक्तिमा असन्तुष्टि जनाउँदै प्रदेशसभा सदस्य द्रोणकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् । उनी नेपाली कांग्रेसबाट बागलुङ क्षेत्र नम्बर २ ९२० बाट निर्वाचित भएका हुन् । कुँवरले बुधबार सभामुख कृष्णप्रसाद धिताललाई इमेलमार्फत राजीनामा पठाएका हुन् । सभामुख धितालले बिहान साढे १० बजे राजीनामा आएको पुष्टि गरे ।
‘म काठमाडौंमा छु । माननीय ज्यूले इमेलमार्फत राजीनामा पठाउनुभएको छ । पोखरा फर्केपछि यस विषयमा छलफल गर्छु,’ धितालले भने । उनले राजीनामा स्वीकृत गर्ने–नगर्ने विषयमा प्रदेश फर्किएपछि निर्णय लिने बताए । मन्त्री बन्ने अपेक्षा राखेका कुँवर मन्त्रिपरिषद् विस्तारमा समावेश हुन नसकेपछि असन्तुष्ट बनेको उनी निकट सांसदहरुले बताएका छन् ।
उता, सभामुख धिताल काठमाडौंमै रहेकाले बुधबार भएको मन्त्रिपरिषद् विस्तार तथा मन्त्रीहरूको शपथ कार्यक्रममा सहभागी हुन सकेनन् । ‘म हिजो नै काठमाडौं आएको थिएँ । बिहान १० बजे मात्रै शपथको जानकारी आयो, त्यसैले सहभागी हुन सकिनँ,’ उनले भने ।