काठमाडौं :
पारिवारिक कथावस्तुमा आधारित टेली फिलम ‘संस्कार’को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंमा एउटा कार्यक्रमको आयोजना गरि उक्त टेलिफिल्मको ट्रेलर रिलिज गरिएको हो। रिलिज कार्यक्रममा फिल्मकर्मी,कलाकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सरोज दाहालको लेखन तथा निर्देशनमा तयार भएको टेली फिल्ममा पारिवारिक सम्बन्ध, सामाजिक मूल्य–मान्यता र जीवनका यथार्थ पक्षलाई प्रस्तुत गर्ने प्रयास गरेको निर्माण टिमले जनाएको छ। यस टेलिफिल्मका निर्माता आरजे सिंह र निर्मला खाती रहेका छन् भने छायांकन निर्मल ढकालले गरेका छन्। साथै यस टेलिफिल्मको सम्पादनको जिम्मा निर्देशक दाहाल स्वयंले लिएका छन्।
यस टेलिफिल्ममा प्रयोग भएका गीतहरूमा नरहरी प्रेमी र पवित्रा गुरुङको स्वर रहेको छ भने ब्याकग्राउण्ड म्युजिक सुरज कुमार त्रिखत्रीले तयार पारेका हुन्। ‘हार्मोनिक डिजिटल रेकर्डिङ स्टुडियो’मा रेकर्ड गरिएको संगीतले कथालाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ। प्रकाश व्यवस्थापन नरेन्द्र शाहीले सम्हालेका छन्। कलाकारको रूपमा आरजे सिंह, नारायण खाती, राम बुढाथोकी, सरोज दाहाल, सीमा दाहाल, चण्डिका बस्नेत, दीपक बिके, समिता रिजाल, रुष्मिता रम्तेल, निर्मला खाती, मन्दिरा पोखरेल भण्डारी, नरेन्द्र शाही, सुरज कुमार त्रिखत्री र दीपक घमाल लगायतको अभिनय रहेको छ।
ट्रेलरमार्फत पारिवारिक कथा, भावनात्मक उतारचढाव र समाजको यथार्थ चित्रण प्रस्तुत गरिएको देखिन्छ। निर्माण टिमले टेली फिल्मले दर्शकमाझ सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेको छ। ट्रेलर सुबर्ण टिभीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। सिरियल प्रत्येक शुक्रवार साँझ सुबर्ण टिभीको अफिसियल च्यानल मार्फत सार्वजनिक हुनेछ।