काठमाडौँ,
नेपाली राजदूतावास साउदी अरेबियाले त्यहाँको सेन्दान इन्टरेनशनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि आवश्यक पहल थालेको छ ।
रोजगारदाता कम्पनी टाट पल्टिने अवस्थामा पुगी कामविहीन भएका चार सय ६९ नेपाली नागरिकमध्ये केहीले तलबभत्ता उपलब्ध गराउन र नेपाल फिर्ता तथा अरु कम्पनीमा स्थानान्तरणका लागि पहल गरिदिन अनुरोध गरेका थिए ।
कामदारको अनुरोधपछि राजदूतावासले समस्या समाधानका लागि निरन्तर कूटनीतिक पहल गरिरहेको जनाएको छ ।
नेपाल फर्कन चाहनेको हकमा बहिर्गमन भिसाका लागि साउदी सरकारको सम्बन्धित श्रम कार्यालयलाई आवश्यक कागजातसमेत पठाइसकिएको नेपाली दूतावासले जनाएको छ ।
साउदी अरबबाट नेपाल जान इच्छुक नेपाली श्रमिकलाई र विशेषगरी सेन्दान इन्टरनेशनल कम्पनीमा कार्यरतलाई यथाशक्य बहिर्गमन भिसा जारी गरिदिन अनुरोध गर्दै आवश्यक पहल गरिसकिएको दूतावासले जनाएको छ ।