सुचना, समाचार र मनोरन्जन

‘भाइरल गोर्खे’को गीतमा सौगात–सृष्टिको रोम्यान्टिक जोडीले जिते मन

काठमाडौं :

सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको सिनेमा **‘भाइरल गोर्खे’**को नयाँ गीत ‘बतासले उडाइ लाग्यो’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार गीतको भिडियो सार्वजनिक गरेको हो।

गीतमा त्रिशला गुरुङ र दीपक लिम्बुको स्वर रहेको छ भने रोहित शाक्यले संगीत रचना गरेका हुन्। कुशुम गजमेरले शब्द लेखेका हुन्। गीतको कोरियोग्राफी श्याम पट्टेलले गरेका छन्।

यो गीत पुरानो हिट गीतको रिमेक संस्करण हो। मूल संस्करणमा कुमार कान्छा र आशा भोस्लेको स्वर थियो र रञ्जित गजमेरले संगीत दिएका थिए। उक्त गीत चर्चित फिल्म ‘चिनो’मा समावेश भएको थियो। सार्वजनिक भिडियोमा सौगात र सृष्टिको रोम्यान्टिक र चञ्चल प्रेम सम्बन्ध देखाइएको छ। सुन्दर दृश्य पृष्ठभूमिमा प्रेममा डुबेका जोडीको आत्मीयता र समर्पण प्रस्तुत गरिएको छ।

यसअघि दुई दिनअघि फिल्मको नयाँ पोस्टर सार्वजनिक गरिएको थियो। ‘भाइरल गोर्खे’ माघ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। फिल्मले हालको समाजमा फैलिरहेको ‘भाइरल’ बन्ने ट्रेन्डलाई मुख्य कथाको रूपमा प्रस्तुत गरेको छ। निर्देशक निगम श्रेष्ठका अनुसार, “यो सिनेमा समसामयिक विषयमा बनेको कमेडी–ड्रामा हो, जसमा ह्युमर र सन्देश दुवै छन्।” उनले थपे, “टिकटकदेखि युट्युबसम्म फैलिएको भाइरल संस्कृतिलाई व्यंग्यात्मक तरिकाले देखाइएको छ।”

एके ब्रदर कम्पनी, द जीएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण गरिएको यस सिनेमामा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल र ऋषि धमलाको पनि अभिनय रहेको छ। फिल्मका निर्माता अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवलजंग कुँवर हुन्। सह–निर्मातामा शुभेच्छा पौडेल, भुवन अधिकारी र निखिल पौडेल छन्। कार्यकारी निर्माता केदार श्रेष्ठ हुन्।

सिनेमाको छायांकन अमर महर्जनले गरेका छन्। फिल्मको सुटिङ लमजुङको भुजुङ गाउँ, गोरखा र चितवनका विभिन्न स्थानमा गरिएको हो। सुनिल मानन्धर वितरक हुन् भने द्वन्द निर्देशन श्री श्रेष्ठ, सम्पादन बन्देप्रसाद, रवि चौधरी र भीम विश्वकर्माले गरेका छन्।

Leave A Reply

Your email address will not be published.