काठमाडौं :
नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको भाइटिकाको दिनमा अशोक दर्जीको मुख्य भूमिका रहेको चलचित्र ‘मन बिनाको धन’ को शीर्ष गीतको टिजर सार्वजनिक गरिएको छ।
सार्वजनिक टिजरमा अशोक दर्जीलाई रुदै गरेको भावनात्मक दृश्यमा प्रस्तुत गरिएको छ भने गीतमा शिव परियार र प्रमोद खरेलको स्वर सुन्न सकिन्छ। चलचित्रको ट्रेलर आउँदो कार्तिक १२ गते बुधबार सार्वजनिक गरिने जानकारी निर्माण पक्षले दिएको छ।
कार्तिक २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘मन बिनाको धन’ले हाल देशभर आक्रामक प्रचार–प्रसार सुरु गरेको छ। फिल्मको कथा अशोक दर्जीको वास्तविक जीवनसँग जोडिएको छ— बाटोमा गीत गाउँदै माग्दै हिँड्ने अशोकलाई टंक बुढाथोकीले “मन बिनाको धन ठूलो कि धन बिनाको मन” गीतमार्फत परिचित गराएका थिए। अहिले उनी काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन्।
सामाजिक सन्देशमा आधारित यस चलचित्रलाई टंक बुढाथोकीले लेखन, निर्माण र निर्देशन गरेका हुन्। पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् भने मिनु शर्मा (सपना) प्रमुख निर्मातामा रहेकी छिन्। यस्तै जीपी संगौला, विवेक नेपाल र विजया पाण्डे सह–निर्माताका रूपमा रहेका छन्।
चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रविन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल र विजय डंगोलको अभिनय रहेको छ।
फिल्ममा टंक बुढाथोकीकै संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ। चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, रीच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।