काठमाडौं :
तिहारको भाइटीकाको अवसर पारेर शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘वरिष्ठ बलराम’ ले दर्शकको मन जित्न सफल भएको छ। दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहेको यो फिल्म पहिलो शोदेखि नै हलहरूमा उल्लेख्य दर्शक उपस्थितिसहित प्रदर्शन भइरहेको छ।
चलचित्र हेरेका दर्शकहरूले कथा “माटो सुहाउँदो” भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले ‘वरिष्ठ बलराम’ ले मनोरञ्जनसँगै समाजिक सन्देश पनि दिएको बताएका छन्। प्राकृतिक स्रोतको दोहन र संरक्षणको विषयमा आधारित कथाले दर्शकको मन छुने खालको बनेको निर्माण पक्षको दाबी छ। फिल्मले पाएको सकारात्मक प्रतिक्रियापछि निर्माता तथा कलाकारहरू उत्साहित छन्। विजय बराललगायत टोलीका सदस्य दर्शकलाई धन्यवाद दिन हल–हल पुगिरहेका छन्।
चलचित्रलाई सुरेन्द्र पौडेल ले निर्देशन गरेका हुन्। वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यसमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र प्रदीप कुमार चौधरी (पीके) का अभिनय छन्।
कथा र सम्पादन निर्देशक पौडेलकै रहेको फिल्मको पटकथा महेश दवाडी ले लेखेका हुन्। आशिष एच तामाङ र श्रीराज कार्की निर्माता, प्रदीप जी धामी र पुस्कर बी घिमिरे कार्यकारी निर्माता हुन्। राम विष्ट लाइन प्रोड्युसर हुन्। फिल्ममा मनकृष्ण महर्जन को छायांकन, प्रशान्त शिवाकोटी को संगीत, सम्राट बस्नेत को एक्सन निर्देशन र प्रदीप लामो को नृत्य निर्देशन छ।
चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र बाहिर कुवेर सिने डिस्ट्रीब्युसन ले वितरण गरेको हो।