पोखरा,
पोखरामा महिलाको हक, अधिकार र सुरक्षाका क्षेत्रमा काम गर्दै आएको जोन्टा क्लबले जिल्ला प्रहरी कार्यालय कास्की, गैह्रापाटनमा सेनेटरी न्याप्किन भेन्डिङ मेसिन हस्तान्तरण गरेको छ।
महिला कर्मचारी, महिला सेवाग्राही तथा हिरासतमा रहेका महिलाहरूलाई आवश्यक परेको समयमा सहज रूपमा सेनेटरी न्याप्किन उपलब्ध गराउने उद्देश्यले क्लबले मेसिन हस्तान्तरण गरेको जनाएको छ।

जोन्टा क्लबले महिलाको हकहित, सुरक्षा तथा स्वास्थ्यसँग सम्बन्धित विषयमा विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ। महिनावारीका समयमा महिलालाई आवश्यक पर्ने सेनेटरी सामग्रीको सहज पहुँच सुनिश्चित गर्न भेन्डिङ मेसिन उपयोगी हुने क्लबको विश्वास छ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत महिला कर्मचारीसँगै सेवा लिन आउने महिला सेवाग्राही र हिरासतमा रहेका महिलालाई लक्षित गरी मेसिन राखिएको हो।

क्लबका अनुसार महिनावारीसँग सम्बन्धित स्वास्थ्य र सरसफाइका विषयमा सचेतना बढाउनुका साथै महिलालाई आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले यस्तो पहल गरिएको हो।
जोन्टा क्लबको यस पहलले कार्यस्थल तथा सार्वजनिक सेवा लिने स्थानमा महिलाको स्वास्थ्य र मर्यादालाई प्राथमिकतामा राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।