पोखरा,
निरन्तरको वर्षासँगै पोखराको रातोपैह्रो क्षेत्रमा गएको पहिरोले सेती नदीको बहाव आंशिक रूपमा अवरुद्ध भएपछि प्रशासन उच्च सतर्कतामा गएको छ। नदी थुनिएसँगै माथिल्लो क्षेत्रमा पानीको सतह करिब ५० मिटरले बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन र सुरक्षा निकायले घटनास्थलको निरीक्षण गरेका छन्।
पोखरा महानगरपालिका–१५ र १७ को सीमास्थित रातोपैह्रोमा नदी कटानका कारण खसेको पहिरोले सेती नदीको केही भाग थुनिएको हो। हालसम्म पानीको पूर्ण निकास हुन नसकेको पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन्।
घटनाबारे जानकारी पाएलगत्तै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्की, पोखरा महानगरपालिकाका जनप्रतिनिधि तथा सुरक्षा निकायको टोली आइतबार बिहान घटनास्थल पुगेको थियो।
प्रशासनले नदीको बहाव, पहिरोको अवस्था तथा सम्भावित जोखिमको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। तटीय क्षेत्रका स्थानीयलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै जोखिम न्यूनीकरणका लागि थप प्राविधिक अध्ययन र आवश्यक व्यवस्थापन प्रक्रिया अघि बढाइने प्रशासनले जनाएको छ।