सुचना, समाचार र मनोरन्जन

रैथाने उत्पादनमा सक्रिय वालिङको एक सहकारी

वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था सिङ्गो नगरपालिकालाई नै अर्गानिक खेतीको हबको रुपमा विकास गर्न चाहन्छ । किसानलाई बिउ दिएर किसानले उत्पादन गरेका वस्तुको बजारीकरणमा समेत सहकारीले नै सहयोग गर्ने योजना बनाइएको छ । मौसमी तथा बैमौसमी तरकारी उत्पादन गरी व्यवसायिक रुपमा नै कृषिमा लाग्न किसानलाई उत्प्रेरित गर्ने बाटोमा सहकारी संस्था छ । धान खेतीलाई समेत आत्मसात् गरिएको गुरुङ बताउँछन् । २० रोपनी क्षेत्रफलमा सामूहिक रुपमा नै सहकारी संस्था मार्फत उत्पादन भइरहेको छ ।

सन्तोष बस्याल
पोखरा ।

पोखरा देखि दक्षिण भूभागमा पर्छ स्याङजा वालिङ । जहाँ वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था संचालनमा छ । वालिङ नगरपालिका ८ नयाँबजार स्याङजा अवस्थित यो संस्थाले पछिल्लो समय रैथाने उत्पादनमा जोड दिएको छ । “वालिङ प्रोडक्ट होल्डिङको प्रोत्साहन, स्थानीय उत्पादनमा वालिङबासीको पहिचान” भन्ने मुल नारा सहित २०७७ सालमा स्थापना गरिएको सहकारी संस्था सहकारी ऐन २०४८ तथा वालिङ नगरपालिका सहकारी ऐन २०७४ बमोजिम स्थापित भएको हो ।

कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा आधुनिक, व्यवसायिक, दिगो एवम् आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने सोचका साथ संस्थाको स्थापना गरिएको हो । स्वेदशी सोच, स्वदेशी लगानी तथा स्थानीय संस्थागत जनशक्ति मार्फत घरेलु साना उद्यम, नव उद्यम तथा कृषिमा आधुनिकिरणका लागि उद्यमशिलता व्यवसाय प्रवद्र्धन र नवप्रवर्तन केन्द्र परियोजना मार्फत सहकारीले काम अगाडि बढाएको छ । ‘बालीदेखि थालीसम्म, गोठदेखि ओठसम्म’ भन्ने भनाईलाई आत्मसात् गर्दै सहकारीले आफ्ना गतिविधि बढाउँदैछ ।

रैथाने बाली संरक्षण कार्यक्रम

रैथाने बाली संरक्षणमा समेत सहकारी लागिरहेको पाइन्छ । उसो त नेपालमा ३ लाख ५० हजार हेक्टर क्षेत्रफलमा धान, मकै, कोदो, फापर, कागुनो, जौ, लट्टे तथा गेडागुडी लगायतका रैथान तथा सहायक बालीहरुको खेती गरिएको तथ्याङक छ । मध्ये र उच्च पहाडि क्षेत्रहरुमा खाद्य तथा पोषण सुरक्षा कायमका लागि यी बालीहरुले महत्वपूर्ण स्थान राख्छन् । बाली विविधिकरण जैविक विविधतामा यस्ता बालीहरु महत्वपूर्ण मानिन्छन् । रैथाने बालीको अस्तित्वलाई संकटमुक्त बनाउन बाह्य बालीका जातहरुलाई निरुत्साहित गर्नुपर्ने आजको आवश्यकता हो ।

जसलाई सफल पार्न वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था लि. लागिपरेको छ । सहकारीले स्याङजा जिल्लाबाट लोप हुँदै गइरहेको रैथाने बालीको ५६ किसिमका बिउहरु संकलन गरिरहेको र यसलाई निरन्तरता दिने लक्ष्यसहित अगाडि बढीरहेको सहकारी संस्थाका अध्यक्ष यामबहादुर गुरुङले जानकारी गराए । उनका अनुसार हाल ५ किसिमका धानहरु पाखे, जर्नेली, अनदी, कालो झिनुवा, रातो झिनुवा र स्थानीय जेठोबुढो धानहरुलाई रोपण गर्ने काम भइरहेको छ ।

सहकारीले यो वर्षलाई कोदो वर्षको रुपमा पनि मनाएको छ । आगामी दिनमा कोदो र कोदोको पिठो लगायतका विभिन्न परिकारहरुको प्रर्वद्धनमा सहकारी लाग्ने उनले बताए ।

गड्यौले मल प्रवद्र्धन कार्यक्रम

गड्यौले मल एक प्रकारको जैविक मल हो । जुन केही विशेष प्रकारका गड्यौला प्रयोग गरी उत्पादन गरिन्छ । गाई भैंसीको गोबर, घरबाट निस्केका कुहिने गल्ने खालका तरकारीका छिल्का, बोक्रा, पातहरु गड्यौलालाई दिई विष्टाको रुपमा निस्कने दानेदार गाढा खैरो रङ्को वस्तु निकालिन्छ । जून गड्यौले मल हो । यसलाई कालो सून पनि भनिन्छ ।

जैविक मलको तुलनामा विरुवालाई हुर्कन बढ्न र आफ्नो जीवनचक्र पुरा गर्नको लागि नभई नहुने १६ किसिमका तत्वहरु यस मलमा पाइने बताइन्छ । यस मलको प्रयोग गरी उत्पादन भएका वस्तुहरु मानिसले उपभोग गर्दा मानव स्वास्थ्यमा राम्रो प्रभाव पर्नुको साथै पृथ्वीको पर्यावरणलाई सन्तुलित राखी वातावरणलाई स्वच्छ, सफा र प्रदुषण रहित बनाउने काम गर्दछ ।

त्यसैले वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले विगतका वर्षदेखि नै गड्यौलालाई व्यवसायिक तरिकाबाट पाल्ने र त्यसको उपयोग गरी गड्यौले मल उत्पादन गर्ने काम गरिरहेको गुरुङले जानकारी गराए । यस सम्बन्धि अध्ययन गर्न नलेज रिर्सच सेन्टर समेत संचालन गरिएको छ ।

यसरी,वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था सिङ्गो नगरपालिकालाई नै अर्गानिक खेतीको हबको रुपमा विकास गर्न चाहन्छ । किसानलाई बिउ दिएर किसानले उत्पादन गरेका वस्तुको बजारीकरणमा समेत सहकारीले नै सहयोग गर्ने योजना बनाइएको छ । मौसमी तथा बैमौसमी तरकारी उत्पादन गरी व्यवसायिक रुपमा नै कृषिमा लाग्न किसानलाई उत्प्रेरित गर्ने बाटोमा सहकारी संस्था छ । धान खेतीलाई समेत आत्मसात् गरिएको गुरुङ बताउँछन् । २० रोपनी क्षेत्रफलमा सामूहिक रुपमा नै सहकारी संस्था मार्फत उत्पादन भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.