सुचना, समाचार र मनोरन्जन

एक महिनाभित्र ६ कम्पनीका सेयरमा लकइन अवधि सकिँदै

काठमाडौं,

एक महिनाभित्र ६ कम्पनीका सेयरमा लकइन अवधि सकिने भएको छ । संस्थापक, सामूहिक लगानी कोष, कर्मचारी तथा प्रभावित स्थानीयको सेयरमा लकइन अवधि रहने गरेको छ ।

यस्तो सेयरमा लकइन अवधि सकिएपछि बजार मूल्यमै किनबेच गर्न बाटो खुल्छ । लकइन अवधि सकिनुभन्दा १ महिना अगाडि सार्वजनिक सूचना जारी गरेर जानकारी गराउनुपर्ने व्यवस्थाअनुरुप सेयर रजिस्टार कम्पनीले सूचना जारी गरेका हुन् ।

आज बुधबारदेखि कुथेली बुखरी स्मल हाइड्रोपावरको १२ लाख ९ हजार १६९ कित्ता सेयरमा लकइन अवधि सकिँदैछ । संस्थापक, स्थानीय र कर्मचारीको सेयरमा लकइन अवधि सकिन लागेको हो ।

सोलु हाइड्रोपावरले सामुहिक लगानी कोषलाई छुट्याएको ५ लाख कित्ता सेयरमा साउन ११ गते लकइन अवधि सकिँदैछ । त्यस्तै भुजुङ हाइड्रोपावरको सामुहिक लगानी कोषलाई बाँडिएको ५० हजार कित्ता सेयरमा लकइन अवधि साउन २६ गते सकिँदैछ ।

अपर लोहोरेखोलाको २८ लाख ४६ हजार ५२५ कित्ता सेयरमा साउन २८ गते लकइन अवधि सकिँदैछ । संस्थापक, स्थानीय तथा कर्मचारीलाई छुट्याइएको सेयरमा लकइन अवधि सकिन लागेको हो ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता सेयरमा साउन ३० गते लकइन अवधि सकिने भएको छ । संस्थापक तथा कर्मचारीको सेयरमा लकइन अवधि सकिएसँगै सो कम्पनीको ठूलो मात्रामा सेयर संख्या फुकुवा हुने भएको छ ।

होटल फरेस्ट इनको सामुहिक लगानी कोषलाई छुट्याइएको २ लाख कित्ता सेयरमा भदौ ३ गते लकइन अवधि सकिने भएको छ ।

Leave A Reply

Your email address will not be published.