सुचना, समाचार र मनोरन्जन

‘तीन तीघ्रे क्या बिग्रे’ले गर्‍यो नयाँ सुरुवात, चलचित्र प्राविधिकलाई हप्तामा एक दिन अनिवार्य बिदा

काठमाडौं :

नेपाली चलचित्र क्षेत्रमा प्राविधिकहरूको श्रम अधिकार र हप्तामा एक दिन नियमित बिदाको विषय बेला–बेलामा उठ्ने गरे पनि यसलाई औपचारिक रूपमा कार्यान्वयन गर्ने अभ्यास भने विरलै देखिएको छ। छायांकनको व्यस्त तालिका, लामो कार्यसमय र पारिश्रमिकका मुद्दाबीच प्राविधिकहरूको आराम र पारिवारिक समयको आवश्यकता प्रायः ओझेलमा पर्ने गरेको छ।

यही अवस्थालाई मध्यनजर गर्दै रघुजी फिल्म्सको ब्यानरमा निर्माणाधीन नेपाली कथानक चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ ले चलचित्र प्राविधिकका लागि हप्तामा एक दिन अनिवार्य बिदा दिने निर्णय गरेको छ। हाल काठमाडौंमा धमाधम छायांकन भइरहेको चलचित्रको ३०–४० दिनसम्म निरन्तर चल्ने छायांकन तालिकाबीच प्राविधिकहरूले शारीरिक तथा मानसिक रूपमा विश्राम पाउनुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको निर्माण पक्षले जनाएको छ।
चलचित्रका निर्माता रघुनाथ सापकोटाका अनुसार प्राविधिकहरू महिनौंसम्म लगातार छायांकनमा व्यस्त रहने भएकाले उनीहरूले परिवारसँग समय बिताउने अवसरसमेत पाउन सक्दैनन्। “प्राविधिकहरू नै चलचित्र निर्माणका आधारस्तम्भ हुन्। उनीहरूको स्वास्थ्य, आराम र पारिवारिक जीवनलाई सम्मान गर्दै हप्तामा एक दिन बिदा दिने निर्णय गरेका हौं,” उनले बताए।

चलचित्रका लेखक तथा निर्देशक अमर दीप सापकोटाले पनि यस निर्णयमा पूर्ण सहमति जनाउँदै स्वस्थ कार्य वातावरणले राम्रो सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार प्राविधिकहरूलाई पर्याप्त विश्राम उपलब्ध गराउँदा कामको गुणस्तर र कार्यक्षमता दुवैमा सकारात्मक प्रभाव पर्नेछ।

नेपाल चलचित्र प्राविधिक संघका पूर्व उपाध्यक्ष गणेश सापकोटाले पनि चलचित्र प्राविधिकलाई नियमित बिदा उपलब्ध गराउनु समयको आवश्यकता भएको बताए। उनका अनुसार यो अभ्यास एउटा प्रोडक्सन हाउसबाट मात्र सीमित नरही सम्पूर्ण चलचित्र उद्योगले अपनाउनुपर्ने विषय हो।

उनले लामो समयदेखि उठ्दै आएको यस एजेन्डालाई व्यवहारमा उतार्ने पहलको सुरुवात भएको भन्दै अन्य निर्माण कम्पनीहरूलाई पनि यस्तो अभ्यास अनुसरण गर्न आग्रह गरे। चलचित्र क्षेत्रमा प्राविधिकहरूको श्रम अधिकार, कार्य–जीवन सन्तुलन र स्वस्थ कार्य वातावरणको पक्षमा ‘तीन तीघ्रे क्या बिग्रे’ ले थालेको यो कदम नेपाली चलचित्र उद्योगका लागि सकारात्मक उदाहरण बन्न सक्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.