काठमाडौं :
फिल्म ‘शिवांश’को टिजर सार्वजनिक गरिएको छ । निर्माणपक्षले बिहीबार युट्युबमार्फत टिजर सार्वजनिक गरेको हो। ‘सुरुआत नै अन्त्य हो र अन्त्य नै शिवांश’ भन्ने संवादसँगै सुरु हुने टिजर छोटो तर प्रभावशाली छ। टिजरमा फिल्मका मुख्य कलाकार प्रवीण खतिवडा सन्तको भूमिकामा देखिन्छन् । हातमा त्रिशूल बोकेर मन्दिरअगाडि उभिएको दृश्यसँगै टिजर समाप्त हुन्छ।
ओजपूर्ण आवाज, रङ संयोजन, दृश्य र संवादले टिजरले दर्शकमा कौतुहलता पैदा गरेको छ। फिल्मको कथावस्तुबारे निर्माणपक्षले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन । टिजरमा पनि कथा पूर्ण रूपमा सस्पेन्समै राखिएको छ। फिल्म ‘शिवांश’ फागुन ३ गते महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आउनेछ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने फिल्मको निर्देशन सन्तोष कुमार आत्रेयले गरेका छन् । यो उनको डेब्यु निर्देशकीय फिल्म हो । फिल्मका निर्माता अञ्जान केसी हुन् । प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने फिल्मका मुख्य भूमिकामा छन् । साथै विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चौरौटे, उदय कुमार सुब्बा, टीका निरौला र कुन्दनलगायत कलाकारको अभिनय रहनेछ।
फिल्मको कथा अञ्जान केसीले लेखेका हुन् । सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् भने स्क्रिनप्ले बारत लिम्बूको छ।
फिल्ममा विप्लव प्रतीक र राजनराज शिवाकोटीका गीत समावेश छन्। संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीले दिएका छन्। गीतमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर रहनेछ। द्वन्द्व निर्देशन मिलन श्रेष्ठले गरेका छन् भने कोरियोग्राफी विक्रम चोहानको छ। मिलन मानन्धर प्रोडक्सन म्यानेजर, प्रतीक चौधरी आर्ट डिरेक्टर तथा प्रोडक्सन डिजाइनर रहेका छन्।
विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर हुन् भने भीएफएक्स प्रोड्युसर आदेश सुब्बा (गुडरेज पिक्चर्स) रहेका छन्। कस्ट्युम डिजाइन कमल मिश्र, मेकअप आर्टिस्ट तुलसा लिम्बू तथा पोस्टर फोटोग्राफी युवाहाङ राईले गरेका छन्।
बारत लिम्बू मुख्य सहायक निर्देशक रहेको फिल्ममा स्क्रिप्ट डक्टर सुलक्षण भारती हुन्। सरद महतो डीओपी तथा सम्भू थापा कार्यकारी निर्माता रहेका छन्। फिल्मको पोस्ट–प्रोडक्सन चलचित्र चौतारीमा सम्पन्न भएको छ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ।