सुचना, समाचार र मनोरन्जन

मिश्रित समीक्षाबीच फिल्म ‘एक्लो–१’ दोस्रो सातामा प्रवेश

काठमाडौँ :

फरक धार र नयाँ प्रस्तुतिका कारण चर्चामा रहेको प्रतीक्षित नेपाली फिल्म ‘एक्लो–१’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । भविष्यको उत्तर–अपोकालिप्टिक (विनाशपछिको) नेपालको कथामा आधारित फिल्मले नेपाली सिनेमा क्षेत्रमा नयाँ प्रयोगको सुरुआत गरेको निर्माणपक्षको दाबी छ ।

फिल्मप्रति आएका मिश्रित समीक्षालाई निर्देशक प्रदीप शाहीले स्वाभाविक रूपमा लिएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले दर्शकलाई अरूको धारणा पछ्याउनुभन्दा फिल्म हेरेर आफ्नै निष्कर्ष निकाल्न आग्रह गरेका छन् । उनका अनुसार फरक–फरक विचार आउनु नै सिर्जनात्मक कामको सुन्दर पक्ष हो ।

निर्देशक शाहीका अनुसार ‘एक्लो–१’ भविष्यमा बन्ने दोस्रो भाग ‘एक्लो–II : द राइज अफ कल्की’ को आधार निर्माण गर्ने फिल्म हो । यसले ‘एक्लो–भर्स’ विस्तार गर्ने उद्देश्य राखेको उनले बताएका छन् ।

हल भ्रमणका क्रममा दर्शकको उत्साह देखिएको उल्लेख गर्दै शाहीले युवाहरूले अन्तिम दृश्यमा हुटिङ गरेको र फिल्मपछि कथाबारे छलफल गरेको अनुभव साझा गरेका छन् । उनका अनुसार फिल्मले बिस्तारै आफ्नो लक्षित दर्शक भेट्टाउँदै गएको छ ।

दर्शकका सुझावलाई ध्यानमा राख्दै निर्माणपक्षले फिल्ममा रहेका केही सामान्य प्राविधिक त्रुटी सच्याएको छ । रि–डबिङ तथा नेपाली सब–टाइटलसहितको नयाँ संस्करण हाल हलहरूमा प्रदर्शन भइरहेको छ । साथै फिल्ममा समावेश नयाँ गीत ‘द राइज अफ कल्की’ पनि सार्वजनिक गरिएको छ ।

फिल्म ‘एक्लो–१’ यही सातादेखि अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन हुँदैछ । प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन र वेनिशा हमाललगायत कलाकारको अभिनय रहेको फिल्म एनआरएन समूहको लगानीमा बनेको हो । विनोद सुवेदी ‘क्षितिज’ कार्यकारी निर्माता रहेको फिल्मले अन्तर्राष्ट्रिय स्तरमा नेपाली फिल्मको पहिचान विस्तार गर्ने अपेक्षा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.