सुचना, समाचार र मनोरन्जन

फिल्म ‘ह्वाङ तामाङ’ विशेष शोपछि देशव्यापी प्रदर्शनमा जाने

काठमाडौँ :

तामाङ भाषामा निर्माण गरिएको बहुप्रतिक्षित फिल्म ‘ह्वाङ तामाङ (हामी तामाङ)’ राजधानीका दर्शकलाई लक्षित गर्दै विशेष शोमार्फत प्रदर्शन हुने भएको छ। जिम्बा फिल्म प्रोडक्सनको १४औँ प्रस्तुति रहेको फिल्मको विशेष प्रदर्शन पुस २६ गते शनिबार चलचित्र विकास बोर्ड र अष्टनारायण हल, काठमाडौँमा आयोजना गरिने निर्माणपक्षले जनाएको छ।

निमा लामा तामाङको निर्देशनमा बनेको फिल्ममा तामाङ समुदायको जीवनशैली, परम्परा, संस्कार, संघर्ष र पहिचानका विविध पक्षलाई कथानकमा समेटिएको छ। सामाजिक यथार्थ, पारिवारिक सम्बन्ध र सांस्कृतिक गहिराइलाई भावनात्मक र रोचक ढङ्गले प्रस्तुत गरिएको निर्माणपक्षको दाबी छ।

फिल्ममा जय स्याङ्तन,अभि लामा, सिताराम गोले,अनिता गोले,कल्पना वाइबा, निर्मला मोक्तान, राजकुमार स्याङ्तन, प्रबल थिङ, पूजा लामा, चन्द्रमाया दोङ, मङ्गल सिंह ग्याबा र छविलाल बोम्जनलगायत दर्जनभन्दा बढी कलाकारको अभिनय रहेको छ।

संगीत, नृत्य तथा तामाङ सांस्कृतिक पहिरनको प्रयोगले फिल्मलाई थप जीवन्त बनाएको बताइएको छ। फिल्मका निर्माता प्रबल थिङ तामाङका अनुसार ‘ह्वाङ तामाङ’ तामाङ भाषाको सम्भावना, कला र कथालाई मुख्यधारमा स्थापित गर्ने उद्देश्यले निर्माण गरिएको हो।

सह–निर्माता कारसाङ लामा दोङको टोलीले फिल्मलाई गुणस्तरीय बनाउन कुनै कसर बाँकी नराखेको जनाएको छ। तामाङ समुदायसँगै अन्य भाषाभाषी दर्शकले पनि हेर्न सक्ने गरी तयार गरिएको फिल्ममा शब्द–संगीत निमा लामा तामाङकै रहेको छ भने छायांकन सूर्य लामाले गरेका छन्। विशेष शो पश्चात फिल्म देशभरका तामाङ समुदाय बसोबास गर्ने मुख्य क्षेत्रहरूमा प्रदर्शन यात्रामा निस्कने निर्माणपक्षले जनाएको छ।

Leave A Reply

Your email address will not be published.