काठमाडौं :
नेपाली फिल्म ‘सोल्टिनी’को लागि कलाकारहरूको लाइनअप पुरा भएको छ। फिल्ममा अभिनय गर्ने कलाकारहरुको टुङ्गो लागेको छ। निर्माण टिमले मंगलबा फिल्मको सबै कलाकारहरुको टुङ्गो लागेको जनाएको छ।
फिल्ममा प्रकाश सपूत र विल्सन विक्रम राई तथा अभिनेत्रीमा परीक्षा लिम्बुको प्रमुख अभिनय रहनेछ भने रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल र सुजन खतिवडा लगायतको अभिनय रहने छ। अनुभवी कलाकारहरूको अभिनयले फिल्मलाई थप बलियो बनाउने निर्माण पक्षको दाबी छ।
अर्जुन सुवेदीको निर्देशनमा बन्न लागेको यो फिल्ममा अडिसनमार्फत सब्बु गुरुङलाई पनि छानिएको छ। उनले यो फिल्ममा प्रमुख भूमिका निभाउने निर्माण पक्षको दाबी छ।प्रकाश सपूतले ’भीमसेन पोखरेल’ र परीक्षा लिम्बुले ’दिलासा राई’को मुख्य भूमिका रहने यो फिल्मलाई अर्को वर्ष प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षको छ।
भोजपुरको रमणीय प्राकृतिक सौन्दर्यमा छायाङ्कन हुने यस चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ। साथै, दुई प्रमुख पात्रबीचको प्रेम कथा पनि यसको मुख्य आकर्षण रहनेछ। फिल्मको सङ्गीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिने छन् भने छायाङ्कन सुशन प्रजापतिले गर्नेछन्।
प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो फिल्मका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन्। ट्राइडेन्ट कन्सेप्टले पब्लिसिटी डिजाइन गर्नेछ भने आरआर फिल्मस् प्रा.लि.ले नेपाल र नेपसिनेले विदेश वितरण गर्नेछन्। डिजिटल अधिकार एआर डिजिटलले खरिद गरेको छ । पुस १५ बाट छायाङ्कन सुरु हुने फिल्मलाई अर्को वर्षको असोज ३ गते संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको छ।