काठमाडौँ :
भारतिय चर्चित अभिनेता सोनू सूद नेपालका बाढीप्रभावित नागरिकहरूलाई सहयोग गर्न काठमाडौँ आइपुगेका छन्। उनी मंगलबार नेपाल आएका हुन्। गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट पीडित भएकाहरूलाई राहत सामग्री वितरण गर्ने उद्देश्यले आफु काठमाडौँ आएको उनले बताए।
विपत्तिका बेला सामाजिक सञ्जालमार्फत नेपालीप्रति सहानुभूति प्रकट गर्दै सहयोगको प्रतिबद्धता जनाएका सूदले आफ्नो वाचाअनुसार राहत सामग्री आफैँ लिएर आएका हुन्। यसअघि सामाजिक सञ्जालमा नेपाली नागरिकको घाउमा मलम लगाउने वाचा गर्दै उनले लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौ। हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक शक्ति बोकेर आउँदै छौँ।’
नेपाल आइपुगेपछि उनले राहत सामग्री बाढीबाट बढी प्रभावित क्षेत्रमा पुर्याउने र पीडितहरूलाई तत्काल आवश्यक पर्ने गास, बास र पुनःस्थापनाका काममा सहयोग गर्ने जनाइएको छ। कठिन समयमा नेपाल आएर सहयोगको हात बढाएको भन्दै सामाजिक सञ्जालमा नेपालीहरूले सोनू सूदको प्रशंसा गरिरहेका छन्।