काठमाडौं :
अमेरिकामा हुन लागेको साङ्गीतिक यात्रा ‘आरोह अमेरिका टुर (सुजन चापागाईँ एन्ड द ब्यान्ड’कार्यक्रम हाललाई अनिश्चित भएको छ। अमेरिकाकाले उनीहरुलाई भिसा नदिएपछि उक्त कार्यक्रम अनिश्चित बनेको हो।
गायक चापागाईँले आफूहरूको भिसा नआएको भन्दै सुजनले कार्यक्रम अनिश्चित गरिएको जनाएका छन्। उनका अनुसार ८ जना ब्यान्डको मध्ये एक जनाको मात्र भिसा आएको छ। अन्यको भिसा अमेरिकाले दिन इन्कार गरेको हो। गायक चापागाईँले आफ्नो सामाजिक सञ्जाल मार्फत समेत स्पष्टीकरण दिएका छन्।
उनी लेख्छन्,‘ प्रिय दर्शक श्रोता नमस्कार, यही मिति २०२५ मार्च देखि अमेरिकाको विभिन्न राज्यका विभिन्न सहरमा तय भएको हाम्रो साङ्गीतिक यात्रा ‘आरोह अमेरिका टुर (सुजन चापागाईँ एन्ड द ब्यान्ड’ कार्यक्रम हाललाई अनिश्चित भएको छ। नेपाल स्थित अमेरिकी राजदूतावासमा आज भिसाको लागि भएको अन्तरवार्ताको क्रममा हामी ८ जना ब्यान्डका सदस्य मध्ये १ जनाले मात्र भिसा प्राप्त गर्दा पूर्वनिर्धारित कार्यक्रमहरू प्रभावित बनेका छन्। लामो समय देखि नेपाली गीत सङ्गीत मार्फत नेपाली दर्शक श्रोतालाई कसरी गुणस्तरीय सृजना प्रेषण गर्न सकिन्छ भनेर मिहेनत गरी रहेको कुरा दर्शक श्रोताहरूले बुझिदिनु भएकै छ। लगभग २ वर्षको आन्तरिक तयारी पश्चात् अमेरिकाबाट प्रत्यक्ष म्युजिकल लाइभ जर्नी पुन सुरुवात गर्ने बाचा पुरा गर्न नसक्ने जानकारी गराउँदै गर्दा नमिठो अनुभव पक्कै भएको छ। यो अनिश्चितताको कारण पर्न गएको असर प्रति सम्पूर्ण आयोजक, दर्शक तथा शुभचिन्तक प्रति क्षमा याचना गर्दछु। हामी पुनः भेट्ने छौँ।’
अमेरिकी राजदूतावासले सामान्य कारण देखाई भिसा नदिएको टिम म्यानेजमेन्टको गुनासो रहेको छ। लामो समय देखी तयारी भइरहेको र अमेरिकामा पनि कार्यक्रम सोल्ड आउट भइसकेको अवस्थामा भिसाको समस्या हुनु ठुलो राष्ट्रको हेपाह प्रवृत्ति भएको उनीहरूको ठम्याई रहेको छ । सुजनको उक्त स्पष्टीकरण आउना साथ यती बेला सामाजिक सञ्जालमा युएस् एम्बेसीलाई मेन्सन गर्दै सुजनका समर्थकहरूले भिसा दिनु पर्ने माग गरिरहेका छन्।