सुचना, समाचार र मनोरन्जन

‘एक मुठ्ठी बादल’ को प्राइभेट स्क्रिनिङ: पूर्वप्रधानन्यायाधीश कार्की र विशिष्ट व्यक्तित्वद्वारा प्रशंसा

काठमाडौँ :

आगामी शुक्रबार (जेठ १ गते) देखि देशभरका हलमा प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘एक मुठ्ठी बादल’ को विशेष प्रदर्शनी (प्राइभेट स्क्रिनिङ) सम्पन्न भएको छ। राजधानीमा आयोजित उक्त स्क्रिनिङमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, नेपाली कांग्रेसका नेता सुनील कुमार थापा, पत्रकार नारायण वाग्ले, निर्देशक अमन प्रताप अधिकारी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सिनेमा हेरेपछि प्रतिक्रिया दिँदै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले यसलाई एक उत्कृष्ट ‘आर्ट सिनेमा’ को संज्ञा दिइन्। उनले भनिन्, “यो सिनेमाले अहिलेको समाजको यथार्थ चित्रण गरेको छ। विशेषगरी मध्यम वर्गीय परिवारको कथा, पुस्तान्तरणको द्वन्द्व र आधुनिक तथा पारिवारिक मूल्यबीचको टकरावलाई सिनेमाले गज्जबसँग प्रस्तुत गरेको छ।” उनले सन्तानको खुसीका लागि जायजेथा बेचेर विदेश पठाउने आमाबुबा र त्यसपछि परिवारमा देखिने आर्थिक एवं सामाजिक असमानताको विषय मार्मिक रहेको बताइन्।

Chaka Panja

त्यस्तै, रियालिटी शो निर्देशक अमन प्रताप अधिकारीले ‘एक मुठ्ठी बादल’ लाई नेपाली सिनेमा क्षेत्रकै अहिलेसम्मको उत्कृष्ट मध्येको एक भएको दाबी गरे। उनले नेपाली सिनेमाका बारेमा सोध्ने जोकोहीलाई पनि यो सिनेमा हेर्न सिफारिस गर्ने बताए। कांग्रेस नेता सुनील कुमार थापाले पनि सिनेमाको सन्देश मार्मिक र प्रभावशाली रहेको उल्लेख गरे।

महिला नेतृत्वको टिम र निर्माण पक्ष साहारा शर्माको डेब्यु निर्देशनमा तयार भएको यस सिनेमाको एउटा मुख्य विशेषता भनेको यसका लगभग सम्पूर्ण प्राविधिक र रचनात्मक विधामा महिलाको नेतृत्व रहनु हो। सिनेमामा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम लगायतका कलाकारको मुख्य अभिनय रहेको छ।

अभिमन्यु दीक्षितद्वारा निर्मित यस सिनेमामा निकुन श्रेष्ठ कार्यकारी निर्माताका रूपमा रहेका छन् भने जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेलले निर्माणमा सहकार्य गरेका छन्। लिन्ह डान गुयेन फानको छायांकन र गौरव मल्लिकको सम्पादन रहेको यस सिनेमालाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनले संयुक्त रूपमा निर्माण गरेका हुन्। आरआर फिल्म्सले वितरण गर्ने यो सिनेमाले नेपाली समाजको गहिरो भोगाइ र पारिवारिक संरचनाको कथालाई पर्दामा उतारेको छ।

Leave A Reply

Your email address will not be published.