सुचना, समाचार र मनोरन्जन

‘मालती मंगले’को बक्सअफिसमा सानदार प्रदर्शन, खुसियालीमा ‘चुड्का भजन’ सार्वजनिक

काठमाडौँ :

गत शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘मालती मंगले’ ले घरेलु बक्सअफिसमा सुखद व्यापार गरिरहेको छ। प्रदर्शनको तेस्रो दिनसम्म आइपुग्दा दर्शकको बलियो ‘वर्ड अफ माउथ’ र सकारात्मक प्रतिक्रियाका कारण हलहरूमा दर्शकको चाप ह्वात्तै बढेको छ।

चलचित्रले पाइरहेको सफलताको खुसियाली मनाउँदै निर्माण पक्षले चलचित्रमा समावेश ‘चुड्का भजन’ बोलको नयाँ भिडियो गीत सार्वजनिक गरेको छ। पुरुषोत्तम ढुंगेलको शब्द रचना र किरण भुसालको संगीत रहेको यस गीतमा परम्परागत चुड्का लयको प्रयोग गरिएको छ। गीतमा किरण भुसाल, गोविन्द पी.के. आँशु लगायतको स्वर रहेको छ भने सन्देश पौडेलले मादल, मुजुरा र खैँजडीमा साथ दिएका छन्।

दर्शकको क्रेज र कलाकारको हल भ्रमण शनिबार राजधानीका विभिन्न हलहरूमा पुगेका निर्माता एवं वरिष्ठ गायक रामकृष्ण ढकाल, अभिनेत्री वर्षा राउत, अभिनेता विजय बराल र मेक्सम गौडेललाई दर्शकले भव्य स्वागत गरेका थिए। चलचित्र हेरेर निस्किएका दर्शकले यसलाई हाँसो र रोदनको सन्तुलन मिलेको ‘नेपालीपन बोकेको मास्टरपिस’ भन्दै प्रशंसा गरेका छन्। विशेषगरी वर्षाको अभिनय र विजय-मेक्समको जोडीको प्रस्तुतिलाई दर्शकले निकै रुचाएका छन्।

निर्माण तथा प्राविधिक पक्ष रानी फिल्म्सको ब्यानर र युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन्। निर्देशक पाण्डेयको कथा र संयोग गुरागाईँको पटकथा रहेको यस चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलका साथै प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा लगायतको अभिनय छ।

सागर ज्ञवाली कार्यकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्म्सले देशभर वितरण गरिरहेको छ। महेश पौडेलको छायांकन र रोमी मोजेजको सम्पादन रहेको ‘मालती मंगले’को बक्सअफिस यात्रा आगामी दिनमा अझै आक्रामक हुने संकेत देखिएको छ।

Leave A Reply

Your email address will not be published.