काठमाडौं :
बलिउड अभिनेत्री ताप्सी पन्नुले दक्षिण भारतीय फिल्म उद्योगमा काम गर्दा भोगेका केही असहज तथा अप्ठ्यारो अनुभवबारे खुलासा गरेपछि भारतीय मनोरञ्जन क्षेत्रमा चर्चा चुलिएको छ।
बलिउड हंगामाका अनुसार एक अन्तर्वार्ताका क्रममा ताप्सीले प्रारम्भिक करिअरमा दक्षिण भारतीय फिल्म सेटमा कलाकारबीच विभेदपूर्ण व्यवहार हुने गरेको दाबी गरिन्। उनले केही सेटमा कलाकारका लागि छुट्टाछुट्टै सुविधा व्यवस्था गरिने, कसैलाई विशेष व्यवहार गरिने तथा नयाँ कलाकारप्रति फरक दृष्टिकोण अपनाइने अवस्था रहेको उल्लेख गरिन्।
ताप्सीका अनुसार कहिलेकाहीँ कलाकारलाई अनावश्यक रूपमा पर्खाइमा राख्ने, दृश्यबारे स्पष्ट जानकारी नदिने तथा व्यवस्थापन पक्षबाट असहज माग गरिने अवस्था समेत देखिएको थियो। उनले यस्ता अनुभवलाई ‘लज्जास्पद’ र ‘असहज’ भन्दै सुधारको आवश्यकता औँल्याएकी छन्।
उनको भनाइ सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले उनको साहसको प्रशंसा गरेका छन् भने केहीले सम्पूर्ण उद्योगलाई एउटै तराजुमा नतौल्न आग्रह गरेका छन्।
ताप्सी पन्नु दक्षिण र हिन्दी दुवै फिल्म उद्योगमा सफल अभिनेत्रीका रूपमा चिनिन्छिन्। उनका पछिल्ला अभिव्यक्तिले चलचित्र उद्योगभित्रको कार्यसंस्कृतिमाथि पुनः बहस सुरु गराएको विश्लेषण गरिएको छ।