काठमाडौं :
भारतीय चलचित्र उद्योग बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टले बेलायतको लण्डनमा आयोजित बाफ्टा अवार्ड २०२६ समारोहमा हिन्दी भाषामा ‘नमस्कार’ भन्दै पुरस्कार घोषणा गरेपछि अन्तर्राष्ट्रिय स्तरमा चर्चा चुलिएको छ। लण्डनमा सम्पन्न उक्त प्रतिष्ठित समारोहमा आलिया भट्टले गैरअंग्रेजी भाषाको उत्कृष्ट चलचित्र विधाको पुरस्कार प्रस्तुत गरेकी थिइन्। मञ्चमा उक्लिएपछि उनले सुरुवातमै हिन्दीमा अभिवादन गरेकी थिइन्। उनले नमस्कार भनेपछि उपस्थित दर्शकले ताली बजाएर स्वागत गरेका थिए।
कार्यक्रमको भिडियो क्लिप सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखिएको छ। धेरै प्रशंसकहरूले अन्तर्राष्ट्रिय मञ्चमा भारतीय भाषाको प्रयोग गरेको भन्दै उनको प्रशंसा गरेका छन्। केहीले यसलाई भारतीय सांस्कृतिक पहिचानको प्रतिनिधित्वका रूपमा व्याख्या गरेका छन्।
उक्त घटनालाई भारतीय सञ्चारमाध्यमले प्रमुख समाचारका रूपमा प्रकाशन गरेका छन्। भारतीय दैनिक ‘द टाइम्स अफ इन्डिया’ ले आलिया भट्टको हिन्दी अभिवादनलाई विशेष रूपमा उल्लेख गर्दै समाचार प्रकाशित गरेको छ। बाफ्टा अवार्ड विश्वकै प्रतिष्ठित चलचित्र पुरस्कारमध्ये एक मानिन्छ। यस्तो अन्तर्राष्ट्रिय समारोहमा भारतीय कलाकारले मातृभाषाबाट सम्बोधन गर्नु बलिउड उद्योगका लागि गौरवको विषय बनेको विश्लेषण गरिएको छ।