सुचना, समाचार र मनोरन्जन

स्थानीय तरबुजाको पर्वद्धन सहित पोखरा १३ मा तरबुजा मेला सम्पन्न

पोखरा,

पोखरा १३ मा आयोजना भएको तरबुजा मेला उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाद्वारा आयोजित पोखरा १३ को समन्वयमा विहिबारपोखरा महानगरपालिका वडा नं.१३ कार्यालयको कार्यालय परिसरमा भएको उक्त मेलामा तरबुजा प्रदर्शनी, तरबुजा विक्री वितरण, तरबुजा खाने प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायत गतिविधिहरू आयोजना भएको महानगरका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताए ।

पोखरा महानगरपालिका क्षेत्रमा उत्पादन भएका तरबुजाहरू मेलामा राखिएका थिए । महानगरपालिकाको करिब २ सय रोपनी क्षेत्रफलमा ५० बढी व्यवसायीक कृषकहरूले तरबुजा खेती गरेको कडरियाले बताए । उनका अनुसार करिब २ सय टन उत्पादनको अनुमान गरिएको यस खेतीबाट २ करोडको कारोबार हुने अनुमान गरिएको छ ।

पछिल्लो समय पोखरा महानगरपालिका क्षेत्रमा यसको उत्पादन राम्रो भएको र यसखेति प्रति कृषकहरूको समेत आकर्षण बढेको पाइएको आर्थिक विकास महाशाखाका प्रमुख कडरियाले बताए । कृषकहरूले पनि यसबाट आफूहरूले राम्रो आम्दानी लिन सफल भएको एक व्यवसायी रोशन बरालले बताएका छन ।

मेलामा सहभागीहरूले स्थानीय स्तरमा उत्पादन भएको अर्ग्यानिक तरबुजाको स्वाद लिएका थिए। तराई तथा भारतबाट आउने तरबुजा भन्दा पोखरामा उत्पादन भएको तरबुजा निकै स्वादिलो र मीठो भएको स्थानिय बासुदेव पौडेलको भनाई छ । महानगरका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाई सहित पोखरा १३ का अध्यक्ष किरण बराल, पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी लगायको सहभागिता रहेको थियो ।

यसबर्ष धेरै गुना तरबुजा उत्पादन गरेको र पोखरामै सबै भन्दा धेरै तरबुजा उत्पादन गर्ने पोखरा १३ रहेको पोखरा १३ का अध्यक्ष किरण बरालले बताए । उक्त कार्यक्रमले दर्शक तथा किसान दुबै खुसी भएको उनले जनाए । उक्त मेलामा प्रति केजी ५० रुपयाँमा तरबुजा बिक्री गरिएको थियो।

Leave A Reply

Your email address will not be published.