सुचना, समाचार र मनोरन्जन

तरकारीखेती गरेर वार्षिक रु १५ लाखसम्म आम्दानी

तनहुँ/

जिल्लाको बन्दीपुर गाउँपालिका–१ का दामोदर ढकालले विसं २०६४ देखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । हाल ५० रोपनी जमिनमा खेती गरिरहेका उनले वार्षिक रु १५ लाखसम्म आम्दानी हुने गरेको सुनाए ।

बाइस वर्षअघि कास्कीबाट यहाँ बसाइँसराइ गर्दा ढकालले अरूको मेलापात गरेर जीविकोपार्जन गर्नुपर्ने अवस्था थियो । केही वर्ष गाउँमै मेलापात गरेपछि उनी कामका लागि भारत गए। त्यहाँ १० वर्षजति बिताएपछि फेरि आफ्नै गाउँ फर्किए । त्यसपछि कहिल्यै गाउँ छोड्न मन लागेन । अनि सुरु भयो, गाउँमै तरकारीखेती । निरन्तर प्रयास गरे के हुँदैन, त्यसैको उदाहरण बनेका छन् ढकाल । सुरुमा दुई–तीन रोपनीमा खेती गरेका उनले हाल ५० रोपनीमा विस्तार गरेका छन् ।

“पहिले पहिले अरूको मेलापर्म गरेर जीविकोपार्जन गरिन्थ्यो । कामका लागि भारत पनि गइयो तर त्यहाँबाट फर्केपछि भने आफ्नै देशमा केही गर्नुपर्छ भनेर खेती सुरु गरेँ । राम्रै भयो, यदि काम गर्ने इच्छा शक्ति छभने देशमै धेरै अवसर रहेछन् भन्ने कुरा धेरैपछि थाहा पाए तर त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन । मेहनत गरेर विगतमा बाँझो रहेको जग्गाबाटै हाल लाखौँ कमाई गरिरहेको छु”, ढकालले भने ।

उनले बाह्रैमास तरकारीखेती गर्छन्। टनेलमा बाह्रैमास गोलभेँडा, मौसमअनुसारका तरकारी । केराउ, काउली, फर्सी, करेला, घिरौँला, खुर्सानी र बेमौसमी तरकारीले सधैँ फल्छन् उनको बारीमा । पछिल्लो समय तरकारीका साथै बिरुवासमेत उत्पादन गरेर बिक्री गर्ने गरेको ढकालले जानकारी दिनुभयो । करिब चार रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारी र फलफूलका बिरुवा उत्पादन गर्ने गरेको उनले बताए ।

तरकारीखेती गरिरहेको सबै जग्गा भने उनको आफ्नै होइन । वार्षिक रु दुई लाख तिर्ने गरी ५० रोपनी जग्गा भाँडामा लिएका छन् । ढकालले उत्पादनको राम्रो खपत हुन थालेपछि थप १० रोपनी जग्गामा व्यवसाय विस्तारको योजना बनाएका छन्। उनले भने, “उत्पादन गरेका तरकारी बन्दीपुर, डुम्रे, दमौलीलगायत बजारमा बिक्री गर्दै आएको छु । पोखराबाट समेत व्यापारीहरू तरकारी लिन आउने गरेका छन् । यो सबै गरी वार्षिक रु ८० लाखसम्म कारोबार हुने गरेको छ । त्यसमा सबै खर्च कटाएर रु १५ लाख बचत हुने गरेको छ । अब थप व्यवसाय विस्तारको योजना बनाइरहेको छु ।”

विगतमा अर्कोको बनिबुतो गरेर खाने ढकालले यसै व्यवसायबाट परिवारको लालनपालन र छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिए । “तरकारीखेतीबाट राम्रो आम्दानी भएकाले छोराछोरीलाई स्नातक तहसम्म पढाउन सफल भए । अर्काको देशमा नोकरी गरेर बसेको भए यो सम्भव हुन्थ्यो या हुन्थेन, समयमै आफ्नै स्वदेशमा कृषि पेसा गरेकाले अहिले सबै राम्रो भइरहेको छ । आम्दानी र सन्तुष्टि दुवै”, ढकालको भनाइ छ ।

आफ्नो व्यवसाय विकासका लागि बन्दीपुर गाउँपालिका र कृषि ज्ञान केन्द्रले पनि सहयोग गरेको ढकालले जानकारी दिए । तीन वर्षसम्म टनेल प्रविधिमा सहयोग पाएको उनले बताए । “कृषि व्यवसाय विस्तारका लागि हालसम्म रु १० लाख बराबरको अनुदान प्राप्त गरेँ । कृषि विषयमा अध्ययन अनुसन्धान गर्न कृषि ज्ञान केन्द्रले भारत भ्रमणमा समेत पठाएको छ । कामको खोजीमा जानुभन्दा र व्यवसायीका रूपमा भारत भ्रमणमा जानुको आनन्द नै बेग्लै हुँदो रहेछ”, उनले खुसी साटे ।

व्यवसायी ढकालले बजारको मागअनुसार उत्पादन र त्यसअनुसार व्यवस्थापनको काममा निरन्तर लागिरहेको बताए ।

Leave A Reply

Your email address will not be published.