काठमाडौं :
फिल्म ‘द रेड सुटकेस’ नयाँ वर्ष २०८१ को अवसरमा पारेर यही ३० चैतमा रिलिज हुँदैछ । यो फिल्मलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन् । जर्मनीबाट फिल्ममा विधावारिधी गरेका फिडेलको यो डेब्यु फिचर फिल्म हो।
करिव डेढ दशकदेखि जर्मनीमा बस्दै आएका उनी नेपाली समाजको अध्ययन अनुसन्धान गर्न र परिवारलाई भेट्न समय समयमा नेपाल आउने गरेका छन्। सोही क्रममा उनले नेपाल आएको मौकामा फिल्मको काम थालेका हुन्।
उनले सन् २०१९ मा विश्वव्यापी रुपमा कोरोनाका महामारी फैलँदा उनी जर्मनीमै थिए । त्यतिबेला लामो समयसम्म कोठामा बस्नु पर्दा आफु त्यही कोठामा मरेँ भने आफ्नो शबको के हालत होला भन्ने कुरा उनले सोच्न थाले । यसरी कोरोनाकालमा कोठामा बासेर सोच्दा सोच्दै उनलाई फिल्म ‘द रेड सुटकेश’को कथा फुराएका थिए।
भुईं मान्छेहरुको कथाको पछिल्लो समय दस्तावेज रहेको निर्देशक बताउँछन्।
निर्देशक भन्छन्,‘हाम्रा नेताहरु बिदेशबाट कती रेमिट्यान्से भित्राउने भनेर बिदेश गाएका युवा नेपालीहरुको टाउको मात्र गनेर बसिरहेको छन् । देशमा रोजगार नभएर बिदेश जानु पर्ने ती युवाहरुको बाध्यताले नै यो चलचित्रको कथा जन्माएको हो ।’
उनले थपे,‘धेरै पटक बिदेश यात्रा गर्दा मैले आफ्नो नाम समेत लेख्न नजान्ने नेपालीहरुलाई जहाजमा भेटें । यात्राको क्रममा उनीहरुको कथा सुन्दै जाँदा मलाई तीे कथाहरुलाई दृष्यमा उतार्नु पर्छ भन्ने लाग्यो र चलचित्र द रेड सुटकेश नै तयार गरेँ ।’
यो फिल्ममा सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ, प्रविण खतिवडालगायतको मुख्य भूमिका रहेको छ । फिल्मको नाम ‘द रेड सुटकेश’ राख्नुको कारण पनि त्यत्तिकै रोचक रहेछ । सुरुमा त फिडेलले यो फिल्मको नाम नेपालीमा राख्न चाहेका रहेछन् । तर रेड सुटकेशको नेपाली अर्थ रातो बाक्सो हुने भएकाले यो नाम फिल्मका लागि उपयुक्त नदेखेर रेड सुटकेश नै राखिएको पनि उनले प्रस्ट्याए ।
यो फिल्मलाई सिन्धुली र काठमाडौंमा छायाँकन गरिएको छ। फिल्मको कथाबारे निर्देशक भन्छन,‘नेपालीहरु बैदेशिक रोजगारमा जाने बढ्दो आप्रवासी परम्परा र त्यसले अबको समाजलाई कता लैजान्छ भन्ने कुरालाई हामीले यसको कथा बनाएका छौं । चलचित्रको कथा यस्तो छ भन्नु भन्दा पनि द रेड सुटकेश हेरेपछि यो त हाम्रो वरपरको कथा हो भनेर दर्शकहरुले भन्नु हुनेछ ।’
अहिलेको आम व्यबसायिक फर्मुलामा बनेका फिल्म भन्दा केही फरक रुपमा द रेड सुुटकेश आफुले निर्माण गरेको पनि निर्देशक फिडेलले जिकिर गरे । अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा महत्वका साथ प्रदर्शन भईसकेको यो फिल्मलाई हेरेर दर्शकहरुले फरक फरक धारणा बनाउने फिडेलको विश्वास छ ।
उनले भने,‘हाम्रो यो चलचित्र हेरेपछि पनि दर्शकले आ आफ्नो धारणा बनाउनु हुनेछ । यसले अहिलेका सिनेमा हेरेका दर्शकलाई फरक स्वाद दिनेछ।’
उनले थपे,‘यो फिल्म एकदमै फरक र साह्रो राम्रो छ भनेर म दाबी गर्दिन । तर हेरेपछि यहाँहरुले केही फरक सिनेमा हेरेको प्रतिक्रिया पक्कै दिनु हुनेछ ।’
गत वर्षको सेप्टेम्बरमा भेनिसमा वल्र्ड प्रिमियर भएको यो फिल्मले त्यही फेस्टिभलमा महत्वपूर्ण दुई अवार्ड जितेको थियो । फिल्मले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो ।
त्यसयता फिल्म संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि फेस्टिभलमा प्रदर्शन गरिएको पनि निर्देशक फिडेल देवकोटाले बताए ।
उनका अनुसार स्वतन्त्र समीक्षकहरुको संस्था बिसाटो डिओरोले डेब्यु फिल्म निर्देशकको रुपमा उनलाई बेस्ट फस्ट फिचर फिल्मको अवार्ड प्रदान गरेको थियो । फिल्मले श्रीलंकामा सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको थियो । केही फरक शैलीको भएकै कारण यसरी विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सवमा अवार्ड जितेको पनि उनले बताए ।