काठमाडौं :
हिमालय टिभीबाट प्रसारण हुँदै आएको गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सातौँ सिजन फिनाले चरणमा प्रवेश गरेको छ। शुक्रबार र शनिबार राति हिमालय टिभीमा प्रसारित एपिसोडमार्फत शोले चार जना फाइनलिस्ट तय गरेको हो।
यस सिजनको फिनालेमा चारमध्ये तीन जना महिला प्रतिस्पर्धी पुगेका छन्, जुन ‘द भ्वाइस अफ नेपाल’ को नेपाली संस्करणको इतिहासमै पहिलोपटक हो। यसअघि कुनै पनि सिजनमा यति धेरै महिला प्रतिस्पर्धी फिनालेमा पुगेका थिएनन्।
हिमालय टिभीमा प्रसारित एपिसोडअनुसार टिम प्रमोद खरेलबाट पुनम गुरुङ, टिम मेलिना राईबाट सञ्जिता दूरा, टिम खेम सेन्चुरीबाट सागर संसार राई र टिम राजु लामाबाट नीताकुमारी थापा फिनालेमा छनोट भएका छन्।
आगामी शनिबार हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण हुने फिनाले कार्यक्रममा यी चारमध्ये एक जनाले उपाधि जित्नेछन्। महिला प्रतिस्पर्धी विजेता बनेमा ‘द भ्वाइस अफ नेपाल’ को इतिहासमा पहिलो महिला विजेताको कीर्तिमान स्थापित हुनेछ।
‘द भ्वाइस अफ नेपाल’ हरेक शुक्रबार र शनिबार राति ८ बजेदेखि हिमालय टिभीबाट नियमित रूपमा प्रसारण हुँदै आएको छ।