काठमाडौं :
अभिनेता आकाश श्रेष्ठ पछिल्लो समय सिनेमाभन्दा म्युजिक भिडियोमा बढी व्यस्त देखिएका छन्। उनी अन्तिम पटक गत मंसिर १२ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘हर्ष’ मा विशेष भूमिकामा देखिएका थिए। त्यसपछि उनी रुपेश तामाङको निर्देशनमा निर्माण हुने एक अनटाइटल फिल्ममा अनुबन्धित भए पनि हालसम्म उनी पर्दाभन्दा म्युजिक भिडियोमै सक्रिय छन्।
आकाशको हप्तैपिच्छे नयाँ म्युजिक भिडियो सार्वजनिक हुँदै आएका छन्। तीमध्ये अधिकांश भिडियोमा उनी आफ्नी जोडी अभिनेत्री करुणा श्रेष्ठसँग देखिने गरेका छन्। यही जोडीको नयाँ म्युजिक भिडियो ‘तिम्रो स्पर्श’ हालै सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा सुरज राज खत्रीको शब्द, संगीत र स्वर रहेको छ। भिमफेदी गाइजका निर्मल कुमार लामाको निर्देशनमा तयार गरिएको भिडियोमा आकाश र करुणा रोमान्टिक अवतारमा नृत्य गर्दै प्रस्तुत भएका छन्।
आरोह रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतका अडियो निर्माता किरण आले मगर हुन्। प्रवेश खत्री प्रोजेक्ट म्यानेजर रहेका छन् भने भिडियोको छायांकन, सम्पादन तथा कलर पवन सुस्लिङले गरेका हुन्।