काठमाडौं :
निर्देशक घनश्याम लामिछानेले नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन्। शुक्रबार साँझ काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिज्मा फिल्मको औपचारिक घोषणा गरिएको हो। सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्म ‘तिमी मेरो म तिम्रो’लाई निर्देशक लामिछानेले निर्देशन गर्न हुन्।
प्रेम कथामा आधारित हुने यस फिल्मको मुख्य भूमिकामा भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल, सन्तोष अधिकारी, रियान गिरी,प्रतिमा थापालगायत कलाकारको मुख्य भूमिका रहेको छ भने म्युजिक युग भुसालको छ। यसै फिल्ममार्फत थापाले अभिनेत्रीमा डेब्यु गर्न लागेकी हुन्।
आस्प इन्टरटेनमेन्ट अस्ट्रेलियाको निर्माण रहने फिल्मको को–प्रोडुसरमा राज श्रेष्ठ र आशिस थापा मगर रहेका छन्। एक्जुकेटिभ प्रोडुसरमा सन्तोष अधिकारी छन्। लाइन प्रोडुसरमा तेजविक्रम केसी रहेका छन्।
नरेन्द्र मैनालीको डीओपी रहने सिनेमा मनिष गौतमले लेखेका छन्। निर्माण टिमले असोजमा यस फिल्मको पहिलो चरणको छायाँकन हुने बताएको छ। यस फिल्मका अन्य कलाकार तथा प्राविधिकहरुको बारेमा कुराकानी भइरहेको र चाँडै नै जानकारी दिने निर्देशक लामिछानेले जानकारी दिए। यसअघि निर्देशक लामिछाने र अभिनेता अधिकारीले फिल्म ‘चित्रा’निर्माण गरेका थिए। यो उनीहरुको दोस्रो सहकार्य हो।