सुचना, समाचार र मनोरन्जन

पोखरामा एकै दिन सय वटा विद्युतीय स्कुटर हस्तान्तरण, उत्साहजनक रेकर्ड

पोखरा :

पोखरामा विद्युतीय सवारी साधनप्रति सर्वसाधारणको आकर्षण बढ्दै जाँदा एकै दिन सय वटा स्कुटर हस्तान्तरण गरेर नयाँ कीर्तिमान कायम गरिएको छ। टीभीएसको आधिकारिक विक्रेता स्क्वायर मोटर्स प्रालीले बिहीबार पोखरामा एक विशेष समारोह आयोजना गरी सय जना ग्राहकलाई ‘आईक्युब’ विद्युतीय स्कुटर प्रदान गरेको हो।

Chaka Panja

पोखरास्थित सिटी स्क्वायर पार्टी प्यालेसमा आयोजित सो कार्यक्रममा ती स्कुटरहरू सम्बन्धित ग्राहकलाई हस्तान्तरण गरिएको थियो। पछिल्लो समय खनिज इन्धनको मूल्यमा भएको वृद्धि र स्वच्छ ऊर्जाप्रतिको चेतनाका कारण विद्युतीय सवारीतर्फ उपभोक्ताको रुचि तीव्र बनेको यस उपलब्धिलाई कम्पनीले ऐतिहासिक क्षणका रूपमा लिएको छ।

विशेषगरी सञ्चालन खर्च कम हुने, आधुनिक प्रविधि प्रयोग गरिएको र यात्रा आरामदायी हुने भएकाले यो स्कुटर धेरैको रोजाइमा परेको पाइएको छ। हाल पोखराका सडकमा एक हजारभन्दा बढी यस्ता स्कुटरहरू सञ्चालनमा आइसकेका छन्।

विक्रेता कम्पनीका प्रतिनिधिले पोखरेली ग्राहकले देखाएको ठुलो विश्वासप्रति आभार प्रकट गरेका छन्। कम्पनीले आगामी दिनमा मर्मत सम्भार र जडान हुने पाटपूर्जाहरूको उपलब्धतालाई थप सहज बनाउँदै ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ। पोखरामा देखिएको यो उत्साहले नेपालमा वातावरणीय मैत्री यातायातको भविष्य अझ मजबुत बन्दै गएको संकेत गरेको छ।

Leave A Reply

Your email address will not be published.