उमेश केसी,
हामी स्वतन्त्र राष्ट्रका स्वतन्त्र नागरिक हौं । तर स्वतन्त्रताको प्रयोग गर्दा लोकतान्त्रिक मूल्यहरूको संरक्षणका लागि हामी आवश्यक योग्यता र पात्रता प्राप्त गर्न सकेका छौं त? भन्ने प्रश्न आज गम्भीर रूपमा उठिरहेको छ ।
जनावरहरू बथानको बलले सञ्चालित हुन्छन । तिनीहरूलाई जिम्मेवारी हुँदैन, न आफ्नो निर्णय लिन सक्ने स्वतन्त्रता । उनीहरूको अनुशासन मालिकले निर्धारण गर्छ। ठीक त्यसैगरी, कुनै पनि आश्रित राष्ट्रमा नागरिकहरू स्वतन्त्रताको मूल्य बुझ्न बाध्य हुँदैनन् — उनीहरू शासनको नियन्त्रणमा बाँच्न अभ्यस्त हुन्छन् ।
तर जब कुनै राष्ट्र स्वतन्त्र हुन्छ, त्यसपछि नागरिकले अधिकारसँगै जिम्मेवारी पनि बहन गर्नुपर्छ । स्वतन्त्र राष्ट्रमा नागरिकको योगदान राष्ट्र निर्माणको मेरुदण्ड हो । तर यदि नागरिकहरू अधिकार त प्रयोग गर्छन् तर दायित्व प्रति बेवास्ता गर्छन् भने, उनीहरूले स्वतन्त्रताको सार नबुझेको प्रमाणित हुन्छ ।
साँचो स्वतन्त्रता भनेको आत्म–अनुशासन हो, जुन व्यक्ति आफैंमा अनुशासित छ, उसलाई कुनै बाह्य नियन्त्रण चाहिँदैन त्यस्तो व्यक्ति स्वतन्त्रता सँगसँगै जिम्मेवारी पनि सहजै बहन गर्न सक्छ । यही कुरा राष्ट्रको नागरिकमा लागू हुन्छ । प्रकृतिले पनि यही सन्देश दिन्छ — मानिसलाई स्वतन्त्र सोच्ने, निर्णय गर्ने र समाजमा योगदान दिने विशेषता दिइएको छ । अन्य प्राणीहरू नियन्त्रणमा छन्, किनभने तिनीहरू आफैंलाई अनुशासित गर्न सक्दैनन् । चाल्र्स किङ्सका शब्दहरूमा स्वतन्त्रता दुई प्रकारको हुन्छ – १) गलत स्वतन्त्रताः जसमा व्यक्ति जे चाह्यो त्यो गर्छ, अरूको हानि भए पनि पर्वाह गर्दैन । २) साँचो स्वतन्त्रताः जसमा व्यक्ति आफ्नो इच्छा सामाजिक मर्यादा र अरूको हितलाई ध्यानमा राखी पुरा गर्छ ।
आजको अवस्था र नागरिक चेतनाको परीषामा हामी स्वतन्त्र भयौं, तर स्वतन्त्रताको मूल्य र जिम्मेवारी बुझ्न चुकेका छौं । हामी व्यक्तिगत स्वार्थमा डुबेका छौं, तर सामूहिक जिम्मेवारीबाट भागिरहेका छौ । हामी “सरकारी सम्पत्ति” लाई आफ्नो भन्न सक्दैनौं । खानेपानी संस्थान, आयल निगम, औषधि उत्पादन केन्द्र, नेपाल एयरलाइन्स — यस्ता अनेकों सार्वजनिक संस्था घाटामा छन् । यसको मूल कारण हो “राष्ट्रको सम्पत्तिलाई आफ्नो सम्पत्तिको जस्तो माया नगर्ने प्रवृत्ति”। अझ दुःखको कुरा, उही ठाउँमा निजी कम्पनी आए भने एक वर्षमै मुनाफा कमाउँछ । के यसले हाम्रो नागरिक चेतनामा गम्भीर प्रश्न खडा गर्दैन?
साँचो स्वतन्त्रता भनेको आत्म–अनुशासन हो, जुन व्यक्ति आफैंमा अनुशासित छ, उसलाई कुनै बाह्य नियन्त्रण चाहिँदैन त्यस्तो व्यक्ति स्वतन्त्रता सँगसँगै जिम्मेवारी पनि सहजै बहन गर्न सक्छ । यही कुरा राष्ट्रको नागरिकमा लागू हुन्छ । प्रकृतिले पनि यही सन्देश दिन्छ — मानिसलाई स्वतन्त्र सोच्ने, निर्णय गर्ने र समाजमा योगदान दिने विशेषता दिइएको छ । अन्य प्राणीहरू नियन्त्रणमा छन्, किनभने तिनीहरू आफैंलाई अनुशासित गर्न सक्दैनन् ।
हाम्रा कलाकार, सञ्चारकर्मी, व्यवसायी – सबैको स्वतन्त्रता समाज, संस्कृति र राष्ट्रका लागि प्रेरणादायी हुनुपर्छ । तर स्वतन्त्रताको आडमा जब समाजमा अश्लीलता, भ्रामक सन्देश र नैतिक पतन फैलाइन्छ, त्यो लोकतन्त्र बलियो होइन, कमजोर बनाउने काम हो।
हामी आफैलाई कहिल्यै सोध्छौं त? के मैले मेरो छिमेकीप्रति कर्तव्य निभाएको छु? के मैले राष्ट्रिय सम्पत्तिको रक्षा गरेको छु ? के मैले नेपाली भाषा, धर्म, संस्कृतिको संवद्र्धनमा केही योगदान दिएको छु ? लोकतन्त्रको सही अर्थ लोकतन्त्र भनेको केवल चुनाव होइन, सहभागिता हो, जिम्मेवारी हो, समर्पण हो । तर आज हामी लोकतन्त्रलाई सुविधा खोज्ने साधन ठान्न थाल्यौं — योगदान दिने कर्तव्य होइन। यही कारण लोकतान्त्रिक मूल्यहरूमा व्यापक कमजोरी देखिन थालेको छ ।
राजसंस्थाः अनुशासन र पहिचानको प्रतीक
जब लोकतान्त्रिक प्रणालीमा नैतिकता, पारदर्शिता र जवाफदेहीता हराउँदै जान्छ; जब स्वतन्त्रताको नाममा अराजकता र स्वच्छन्दता फैलिन्छ; तब जनताको मन राजसंस्थातर्फ आकृष्ट हुनु स्वाभाविक हुन्छ । राजसंस्था नेपालको मौलिक पहिचान हो — जसले विगतमा राष्ट्रको एकता, सार्वभौमिकता र धार्मिक–सांस्कृतिक आत्मालाई संरक्षण गरेको थियो। आज जब लोकतन्त्र नागरिक चेतनाको अभावमा दिशाहीन देखिन्छ, तब जनमानसमा अनुशासित र मूल्यकेन्द्रित शासन प्रणालीको आवश्यकता अनुभूत हुनु आश्चर्यजनक होइन ।
हामीले अब यो आत्मनिरीक्षण गर्नैपर्छ के हामी लोकतन्त्रको उपयुक्त पात्र छौं? के हामी साँचो स्वतन्त्रताको मर्म बुझेका छौं? यदि छौं भने, स्वतन्त्रतालाई सही अर्थमा प्रयोग गर्न सिक्नैपर्छ । अनि लोकतन्त्रलाई जीवन्त बनाउने नागरिक बन्नु नै हाम्रो पहिलो कर्तव्य हो । तर यदि छैनौं भने, अनुशासन, आस्था र राष्ट्रिय एकताको लागि हामीले वैकल्पिक संरचनाबारे पनि सोच्न डराउनु हुँदैन । एक प्रख्यात सन्तले भनेका छन– “तिमीहरू स्वतन्त्र भएर पनि यदि आफ्नो स्वार्थको लागि स्वतन्त्रताको दुरुपयोग गर्छौ भने, तिमीहरू स्वतन्त्र हुन योग्य छैनौ” । साँचो नागरिक बनौं, जिम्मेवार बनौं, स्वतन्त्रतालाई जीवन्त बनाऔं । आवश्यक परे राष्ट्रको अनुशासित अस्तित्व र पहिचानको रक्षा गर्न राजसंस्थाको पनि पुनर्विचार गरौं।