
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने
- सुमित्रा, कल्पना र गंगा ‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ को विजेता,थाइल्यान्डमा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने
- कांग्रेस महाधिवेशनः मतदानको समय बेलुका ७ बजेसम्म थपियो
- लाहुरे समाजको कथा बोकेको ‘पेन्सन पट्टा’ पाँचौँ हप्तामा, बक्स अफिसमा सफल यात्रा
- सुशील र न्यान्सीको मुख्य अभिनय रहेको फिल्म ‘अक्षरा’ हलहरूमा
- ‘टनेल २६’ को रिलिज तत्कालका लागी स्थगित,घाटामा प्रदीप खड्का
- पोखरामा कात्तिक १३ गते बिपुल क्षेत्रीको लाइभ कन्सर्ट हुँदै
- हुलाकलाई ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने योजना प्रभावकारी छः सञ्चारमन्त्री
- बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति, पुनर्निर्माणका लागि सिफारिस
- आवास खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ
नारेश्वर तालमा पानी जम्मा हुन सुरु: २५ हजारदेखि ३० हजार घनमिटर पानी भण्डारण गर्न सकिने
तनहुँ,
नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको ताल उत्खनन गरी पानी जम्मा गर्न थालिएको हो । उक्त तालमा करिब २५ हजारदेखि ३० हजार घनमिटर पानी भण्डारण गर्न सकिन्छ । तनहुँको व्यास नगरपालिका–१० मा पर्ने उक्त ताल करिब २८ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
तालको बाँध तथा अन्य संरचना निर्माण पूरा भएसँगै पानी जम्मा गर्न सुरु गरिएको हो । ताल व्यास नगरपालिकाको गौरवको आयोजना हो ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष विजय दरैले ताल आकर्षक देखिन थालेकाले यहाँ आन्तरिक पर्यटक घुम्न आउन थालेका छन् । यहाँ आउने पर्यटकले फेसबुक, टिकटकमा भिडिओ र फोटो पोष्ट गर्दा तालको महत्व बढ्दै गएको छ ।
उहाँले नारेश्वर ताललाई कृषि, पर्यटन, वातावरण र स्थानीय रोजगारीसँग जोडिएको बहुउद्देश्यीय आयोजनाका रूपमा विकास गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।
“तालमा पानी जम्मा हुन थालेसँगै आयोजनाको महत्वपूर्ण चरण पूरा भएको छ । अब यसको उपयोगलाई कसरी बढीभन्दा बढी प्रभावकारी बनाउने भन्ने विषयमा ध्यान दिनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “सिँचाइसँगै पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि बढाउने गरी तालको विकास गर्ने योजना छ ।”
नारेश्वर ताल निर्माणको उद्देश्य स्थानीय कृषि क्षेत्रलाई आवश्यक पानी उपलब्ध गराउनु पनि हो । तालसँगै सिँचाइ ट्याङ्की निर्माण गरिएको छ । तालमा जम्मा भएको पानी तानेर नजिकैका कृषि क्षेत्रमा वितरण गर्ने व्यवस्था मिलाइने व्यास नगरपालिका–१० का वडाध्यक्ष खेमराज पोख्रेलले बताउनुभयो ।

यसबाट दुम्सीचौर आसपासका किसानलाई सिँचाइ सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ । वर्षाको पानीमा निर्भर भएर खेती गर्नुपर्ने अवस्थालाई कम गर्दै नियमित सिँचाइ सुविधा उपलब्ध गराउनसके कृषि उत्पादन बढाउन सहयोग पुग्ने उहाँको विश्वास छ ।
नारेश्वर ताललाई आगामी दिनमा व्यास नगरपालिकाको आन्तरिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।
पानी भरिएपछि यसको प्राकृतिक सौन्दर्य बढ्ने भएकाले यहाँ जलविहार, वनभोजस्थल तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजना छ । ताल आसपास आवश्यक संरचना निर्माण गर्दै स्थानीय तथा बाह्य पर्यटक आकर्षित गर्ने न्यौपानेको भनाइ छ ।
ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नसके आसपासका क्षेत्रमा होटल, रेष्टुरेन्ट, स्थानीय उत्पादनको बिक्री तथा अन्य सेवामूलक व्यवसाय विस्तार हुने अपेक्षा गरिएको छ ।
“नारेश्वर ताललाई घुम्न आउने ठाउँ मात्र होइन, स्थानीयको आयआर्जनसँग जोडिने गन्तव्यका रूपमा विकास गर्नुपर्छ । ताल वरपर आवश्यक पूर्वाधार विकाससँगै स्थानीय उत्पादन र व्यवसायलाई पनि जोड्ने योजना बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।
नारेश्वर ताल व्यास नगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त साझेदारीमा निर्माण भएको हो । आयोजनाको अनुमानित लागत करिब रु चार करोड रहेको छ ।
नारेश्वर ताललाई नगरपालिकाले केबल एउटा कृत्रिम जलाशयका रूपमा नभई कृषि, पर्यटन, वातावरणीय संरक्षण र रोजगारी सिर्जनालाई जोड्ने आधारका रुपमा लिएको नगरप्रमुख न्यौपानेले बताउनुभयो ।