सुचना, समाचार र मनोरन्जन

उद्देश्यसहितको नेतृत्व र प्रभावशाली प्रस्तुतिबारे पोखरामा प्रशिक्षण हुदैँ

पोखरा,

लायन्स इन्टरनेशनल नेपालले महिलाहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले, उद्देश्यसहितको नेतृत्व, पावर सहित प्रस्तुतिू विषयक विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। आयोजकका अनुसार आइतबार पोखरा इभेन्ट सेन्टरको सभाहलमा बिहान ११ः३० बजेदेखि कार्यक्रम सञ्चालन हुनेछ।

कार्यक्रममा नेपाली पत्रकारिता, महिला अधिकार तथा सामाजिक रूपान्तरणका क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आउनुभएकी वरिष्ठ पत्रकार तथा सामाजिक अभियन्ता बबिता बस्नेतले प्रशिक्षण दिनुहुनेछ। महिलाहरूमा नेतृत्व विकास, प्रभावकारी सार्वजनिक प्रस्तुति, आत्मविश्वास अभिवृद्धि र सामाजिक उत्तरदायित्वका विषयमा उहाँले आफ्ना अनुभव र दृष्टिकोण साझा गर्नुहुने कार्यक्रम रहेको छ।

खोटाङमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउनुभएकी बस्नेत नेपालमा महिला अधिकार र सशक्तीकरणका क्षेत्रमा परिचित नाम हुनुहुन्छ। विगत ३३ वर्षदेखि पत्रकारितामा सक्रिय उहाँ हाल मिडिया एड्भोकेसी ग्रुप ९एमएजी० की कार्यकारी निर्देशक हुनुहुन्छ। यस संस्थामार्फत सूचना अधिकार, महिला सशक्तीकरण, लैङ्गिक समानता तथा सीमान्तकृत समुदायका अधिकार प्रवर्द्धनका लागि उहाँले महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको छ।

उहाँ सञ्चारिका समूहकी पूर्वअध्यक्ष समेत हुनुहुन्छ। चर्चित साप्ताहिक पत्रिका ‘घटना र विचार’ मा २३ वर्षसम्म सम्पादकको जिम्मेवारी निर्वाह गर्नुभएकी बस्नेतले हाल पनि नियमित स्तम्भ लेखनमार्फत समाजका समसामयिक विषयमा आफ्ना धारणा प्रस्तुत गर्दै आउनुभएको छ। साथै उहाँले ‘समय भित्रको समय’ शीर्षकको पोडकास्ट कार्यक्रम सञ्चालन गर्दै समसामयिक बहसलाई थप समृद्ध बनाइरहनुभएको छ।

पत्रकारिताका अतिरिक्त बस्नेतले लैङ्गिक समानता, शान्ति तथा सुरक्षा, लैङ्गिक हिंसा, सूचना अधिकार, विपद् व्यवस्थापन, मानव बेचबिखन तथा सुरक्षित आप्रवासनजस्ता विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रशिक्षकका रूपमा भूमिका निर्वाह गर्नुभएको छ।

नेपाल सरकारद्वारा गठित उच्चस्तरीय मिडिया परामर्श आयोग, सूचना अधिकार ऐन मस्यौदा समिति तथा राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन उच्चस्तरीय परामर्श समितिमा सदस्यका रूपमा उहाँको योगदान उल्लेखनीय रहेको छ। सार्क लैङ्गिक नीति पैरवी समूहमा नागरिक समाजको प्रतिनिधिका रूपमा समेत उहाँ सक्रिय रहनुभएको थियो।

लेखन क्षेत्रमा पनि उहाँ उत्तिकै सशक्त हुनुहुन्छ। पत्रकारिता, महिला अधिकार, आप्रवासन र सामाजिक न्यायका विषयमा उहाँका विभिन्न पुस्तक प्रकाशित छन्। यात्रा संस्मरण ‘समय साक्षी’ र कथासङ्ग्रह ‘सम्बन्धहीन सम्बन्धहरू’ उहाँका चर्चित साहित्यिक कृतिहरूमध्ये पर्दछन्।

पत्रकारिता र सामाजिक क्षेत्रमा पुर्‍याउनुभएको विशिष्ट योगदानको कदरस्वरूप उहाँ राष्ट्रपति वरिष्ठ पत्रकार पुरस्कारसहित विभिन्न राष्ट्रिय सम्मानबाट सम्मानित भइसक्नुभएको छ।

आयोजकका अनुसार महिला आन्दोलनका मुद्दालाई मूलधारको सञ्चारमा स्थापित गर्न, लैङ्गिक न्यायको पक्षमा सशक्त आवाज विकास गर्न तथा प्रभावकारी नेतृत्व र प्रस्तुति सीप अभिवृद्धि गर्न कार्यक्रम उपयोगी हुने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.