पोखरा,
रसुवा-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि जोन्टा क्लब अफ पोखराले रु. १ लाख ५० हजार सहयोग गरेको छ।
क्लबले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। रकम जम्मा गरिएको भौचर क्लबकी अध्यक्ष नेलिसा ठकुरीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, कास्कीमार्फत सहायक प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको क्लबकी सचिव बन्दना कार्की केसीले जानकारी दिइन्।
भौचर हस्तान्तरण कार्यक्रममा क्लबकी उपाध्यक्ष सिर्जना भट्टराई, सचिव बन्दना कार्की केसी, कोषाध्यक्ष श्रीविद्या कायस्थलगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।
क्लबले आर्थिक सहयोगमा मात्र सीमित नरही आगामी चरणमा राहत सामग्रीसहित प्रभावित क्षेत्रमा पुगेर सहयोग गर्ने जनाएको छ।
क्लबले विपद्का बेला सहयोग रकमभन्दा पनि पीडित परिवारलाई आफूहरू एक्लो नभएको अनुभूति गराउनु महत्वपूर्ण रहेको जनाएको छ। क्लबले मानवीय सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ।
भदौ १० गते आएको बाढीले रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। यस्तो कठिन परिस्थितिमा जोन्टा क्लब अफ पोखराले देखाएको सक्रियता सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धताको उदाहरण बनेको छ।
महिला तथा बालबालिकाको हित, सशक्तीकरण र सामाजिक सेवामा केन्द्रित जोन्टा क्लब अफ पोखरा सात वर्षअघि स्थापना भएको हो। क्लबले आफ्नो सामाजिक अभियानलाई पछिल्लो समय विपद्मा परेका समुदायसम्म विस्तार गर्दै आएको छ।