जल तथा मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठले मनसुनमा हुने वर्षा र तापक्रमको अवस्थाबारे प्रस्तुत गरिएका तथ्याङ्क नीति निर्माण र विकास योजनाका लागि महत्त्वपूर्ण आधार हुने बताउनुभएको छ ।
जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको मनसुन फोरममा महानिर्देशक श्रेष्ठले अहिले उपलब्ध प्रविधि, जनशक्ति क्षमता, अध्ययन–अनुसन्धान तथा अन्तर्राष्ट्रिय मौसम तथा वैज्ञानिक संस्थाहरूको सहयोगका आधारमा मौसमी पूर्वानुमान गरिरहेको जानकारी दिनुभयो ।
विभागले वर्षका चारै यामका लागि ‘ऋतुगत पूर्वानुमान’ गर्ने लक्ष्य लिएको उल्लेख गर्दै डा. श्रेष्ठले तीन वटा यामको पूर्वानुमान शुरू भइसकेको र अब प्रि–मनसुनको पूर्वानुमान पनि शुरू गर्न आवश्यक तयारी भइरहेको उल्लेख गर्नुभयो ।
महानिर्देशक श्रेष्ठका अनुसार एल निनो, इन्डियन ओसियन डाइपोल तथा आर्कटिक ओस्सिलेसन जस्ता विश्वव्यापी वायुमण्डलीय प्रणालीले नेपालको मौसममा प्रभाव पार्ने भएकाले यिनको सम्बन्धबारे थप अनुसन्धान आवश्यक रहेको बताउनुभयो ।
वैज्ञानिक अनुसन्धानलाई बलियो बनाउन सके मौसमी पूर्वानुमान अझ विश्वसनीय र प्रभावकारी हुने उहाँको भनाइ छ । डा। श्रेष्ठले यसका लागि अनुसन्धान, प्रविधि विस्तार तथा दक्ष जनशक्ति विकासमा जोड दिनुपर्ने बताउनुभयो ।