काठमाडौं :
वर्षकै चलचित्रमध्येको एक ‘१२ गाउँ २’ को प्रेमिल गीत ‘लालीगुराँस’ शुक्रबार सार्वजनिक गरिएको छ। शिव परियार र सारोही कुमारको स्वर रहेको उक्त गीतमा युग भुसालको शब्द तथा संगीत रहेको छ।
प्रकृतिलाई बिम्ब बनाएर एक-अर्काप्रतिको समर्पण र प्रेम व्यक्त गरिएको यस गीतमा प्रेम सम्बन्धमा बाँधिएपछिको सुन्दर अनुभव र कल्पनालाई प्रस्तुत गरिएको छ। प्रेमीको सम्झना र नाम नै जीवन जिउनका लागि पर्याप्त हुन्छ भन्ने भाव गीतले बोकेको छ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार समीर भट्ट र कृशु शाहीको आकर्षक नृत्य देख्न सकिन्छ। बिराज भट्टको निर्देशनमा तयार भएको यो चलचित्र आगामी असोज ३० गते फूलपातीको दिनदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुति रहेको यस सिनेमाको कथा सन्तोष सरकारले लेखेका हुन् भने महेश पौडेलको छायांकन रहेको छ।
चलचित्रमा समीर भट्ट, कृशु शाही, निर्देशक बिराज भट्टका साथै अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायतका कलाकारको अभिनय छ। यसै चलचित्रमार्फत कृशु शाही र वर्षा इटनीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्। फिल्ममा युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ। चलचित्रको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन्।